दिपक श्रेष्ठ मण्डल
जनकपुरधाम, १९ ज्येष्ठ
विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि तथा विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्ने उद्देश्यले जनकपुरधाममा ६ दिने टार्ल (टिचिङ एट द राइट लेभल) शिक्षक तालिम सम्पन्न भएको छ।
बिल्ड द बेसिक परियोजनाअन्तर्गत आयोजित उक्त तालिम आसमा नेपालको आयोजनामा, स्ट्रिट चाइल्डको प्राविधिक सहयोग तथा हेम्पेल फाउन्डेसनको आर्थिक सहयोगमा सञ्चालन गरिएको हो। जनकपुरधाम उपमहानगरपालिकाका १९ वटा सामुदायिक विद्यालयका ३२ जना शिक्षकको सहभागिता रहेको तालिम मसाला कटेजमा सम्पन्न भएको आयोजकले जनाएको छ।
तालिममा सहभागी शिक्षकहरुलाई विद्यार्थीको वास्तविक सिकाइ स्तर पहिचान गरी सोही आधारमा अध्यापन गर्ने विधि, कक्षाकोठा व्यवस्थापन, सिकाइ मूल्यांकन, आधारभूत सीप विकास तथा सिकाइ उपलब्धि अभिवृद्धिसम्बन्धी व्यावहारिक ज्ञान र सीप प्रदान गरिएको थियो।
कार्यक्रममा टार्ल प्रशिक्षक अशोक चौधरी तथा मूल्यांकन तथा अनुगमन अधिकृत मुकेश रजकले सहजीकरण गरेका थिए। प्रशिक्षण अवधिभर शिक्षकहरुलाई आवश्यक शैक्षिक सामग्री तथा ब्याग समेत वितरण गरिएको आयोजकले जनाएको छ।
सहभागी शिक्षकहरुले तालिमबाट प्राप्त ज्ञान र सीपले कक्षाकोठामा विद्यार्थीको आवश्यकता अनुसार शिक्षण गर्न, सिकाइ कमजोरी पहिचान गर्न तथा प्रभावकारी अध्यापन पद्धति अवलम्बन गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
आयोजकका अनुसार टार्ल विधिले विद्यार्थीको सिकाइ स्तरअनुसार शिक्षण प्रक्रिया सञ्चालन गरी आधारभूत भाषा तथा गणितीय सीप सुदृढ गर्न मद्दत पुर्याउने भएकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ।
शिक्षा क्षेत्रमा गुणस्तरीय सुधार ल्याउने लक्ष्यसहित सञ्चालन गरिएको उक्त तालिमले जनकपुरधामका सामुदायिक विद्यालयहरुमा सिकाइ उपलब्धि वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
