ओम प्रकाश साह
जनकपुरधाम, १८ असार
आयुर्वेद स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (AHMIS) सम्बन्धी तीन दिने तालिम जनकपुरधाममा सुरु भएको छ। मधेष प्रदेश सरकार,प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, जनकपुरधामको आयोजनामा सञ्चालन भएको उक्त तालिममा आयुर्वेद स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूको उलेख्य सहभागिता रहेको थियो।
प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय जनकपुरधामका कार्यालय प्रमुख तथा आयुर्वेद चिकित्सक डा. महारुद्र ठाकुरको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा स्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश कुमार यादवको प्रमुख आतिथ्यमा तालीम भएको हो।
उदघाटन सत्रमा अध्यक्षीय मन्तव्य व्यक्त गर्दै डा. ठाकुरले आयुर्वेद क्षेत्रमा सूचना प्रविधिको प्रयोगलाई समयानुकूल र प्रभावकारी बनाउनु अपरिहार्य रहेको बताए। उनले AHMIS प्रणालीले सेवा प्रवाह, तथ्यांक व्यवस्थापन तथा नीतिगत निर्णय प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
त्यसैगरी, कार्यक्रमका प्रमुख अतिथी स्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश कुमार यादवले स्वास्थ्य क्षेत्रमा डिजिटल प्रणालीको विस्तारले सेवाको गुणस्तर अभिवृद्धि हुने उल्लेख गर्दै सहभागीहरूलाई तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्न आग्रह गरे। उनले सूचना व्यवस्थापनलाई सुदृढ बनाउँदै जनतासम्म प्रभावकारी स्वास्थ्य सेवा पुर्याउन यस्ता तालिमहरू उपयोगी हुने बताए।
तीन दिनसम्म सञ्चालन हुने तालिममा AHMIS प्रणालीको प्रयोग, तथ्यांक प्रविष्टि, प्रतिवेदन व्यवस्थापन तथा डिजिटल अभिलेखीकरण सम्बन्धी विषयमा सहभागीहरूलाई व्यावहारिक प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ।
प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा कार्यरत लालबाबु साहले कार्यक्रम संचालन गरेका थिए।
