महोत्तरीको भंगहामा दलितमाथि निर्घात कुटपिट भएपनि सम्बन्धीत निकाय मौन – Jaleshwortoday

महोत्तरीको भंगहामा दलितमाथि निर्घात कुटपिट भएपनि सम्बन्धीत निकाय मौन

 October 14, 2020  
Kutpit

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २८ आश्विन

महोत्तरीको भंगहामा दुई दलित व्यक्तिमाथि चोरीको आरोपमा निर्घात कुटपिट भएपनि सम्बन्धीत निकाय मौन देखिएको छ । गत शनिबार भंगाहा नगरपालिका–४ बिर्तामा स्थानीय मल्हु सदा र बिन्देश्वर सदामाथि चोर भन्दै स्थानीय कृपाल महतो र उनका छोरा दिनेशले निर्घात कुटपिट गरेका हुन् ।

कृपाल महतोको घरमा गत शनिबार करिब २ बजे राति घरको पछाडि भागमा सुरुङ खनी चोरी भएको थियो । घरबाट दिनेश महतोको श्रीमतीको नाकमा भएको सुनको बुलाकी चोरी भएको थियो । उनका श्रीमतीका अनुसार घरमा कोइ नभएका बेला आएको थियो । साथै उनले चोरलाई आफूले राम्रोसँग चिन्न पनि नसकेको बताएकी थिइन् ।

पीडित बिन्देश्वर मल्हुले भने आफूहरुले चोरी नगरेको बताएका छन् । आफूहरु माछा मार्न गएको र फर्किएपछि करिब ४ बजे बिहान घरभित्रै पसेर उनीहरुले कुटपिट गरेको बताए ।

आफूहरुलाई मोटरसाइकलमा राखी लगेर बाँधेर निर्घात कुटपिट गरिएको उनले दुखेसो पोखेका छन् । गढीमाई समुदायक हस्पिटल सीतापुरमा उनीहरुको उपचार भइरहेको चिकित्सक अशोक यादवले जानकारी दिए । पीडितहरुले महतोविरुद्ध प्रहरी चौकी सीतापुरमा उजुरीसमेत दिएका छन् । अहिले सम्म प्रहरीले घटनाको छानबिन र अपराधीलाई पक्राउ गर्न नसकेको बताइएको छ ।