बहुमत मधेस र जनकपुरकै होस् – Jaleshwortoday

बहुमत मधेस र जनकपुरकै होस्

 January 16, 2022  
Education

सोमबार हुन लागेको प्रदेश २ को नामाकरण तथा राजधानी छनौट सम्बन्धमा चुनावको प्रतिफल के होला अहिले नै भन्न अलिक गाह्रो भए पनि जनआवाज र जनआकाँक्षाको आधारमा यस प्रदेशको नाम मधेस नै हुनु बेस होला । किनभने यस प्रदेशका ८ वटै जिल्ला मधेस भूभागमा पर्दछन् । नेपाल सद्भावना पार्टीको जन्मदाता तथा मधेसको म अक्षरको उत्पति दिलाउँने मधेसको लोकप्रिय नेता स्व.गजेन्द्र नारायण सिंहले मधेस र मधेसीको लागि गरेको योगदान अविस्मरणीय रहेकोले वहाँको योगदानको कदर स्वरुप तथा सम्पूर्ण मधेसी जनसमुदायको प्रतिनिधित्व स्वरुप यस प्रदेशको नाम मधेस प्रदेश राख्न सान्दर्भिक देखिन्छ ।
त्यसैगरी यस प्रदेशको स्थायी राजधानी सम्बन्धमा तटस्थ रुपमा जनकपुरधाम नै उपयुक्त रहेको देखिन्छ । किनभने जनकपुुरधामले कमाएको धार्मिक ईतिहास,राजर्षि जनकको राजधानी,माता सीताको जन्मभूमि,युवा ज्ञाता अष्टाबक्रको शास्त्रार्थ भूमि र माता सीता तथा भगवान रामको विवाह भूमि पनि जनकपुरधाम नै रहेकोले पनि यस प्रदेशको राजधानी जनकपुरधाम नै राख्न बेस हुन्छ । यस प्रदेशको ८ वटा जिल्लाहरु मध्ये धेरै जिल्लाहरुको वीचको छिट्टै पुग्ने स्थानको रुपमा पनि जनकपुरधाम रहेको छ।आर्थिक,शैक्षिक,सामाजिक राजनैतिक,साँस्कृतिक,पर्यटकीय तथा पौराणिक रुपमा अपार विकास तथा संभावना भएको उर्वरा ठाउँ तथा क्षेत्रको रुपमा जनकपुरधाम उपयुक्त रहेकोले माता जानकीको कृपा माननीयहरुको मनमस्तिष्कमा सकारात्मक परोस्् भनी कामना छ ।