मुकेश चौरसिया हत्यामा पूर्वसभासद राजकुमार गुप्ता लगायत १२ जनामाथि मुद्दा – Jaleshwortoday

मुकेश चौरसिया हत्यामा पूर्वसभासद राजकुमार गुप्ता लगायत १२ जनामाथि मुद्दा

 October 29, 2020  
Murder

जलेश्वरटुडे समाचारदाता
पर्सा, १३ कार्तिक

पर्साका नेकपा नेता मुकेश चौरसिया हत्या प्रकरणमा पूर्वसभासद राजकुमार गुप्ता सहित १२ जनामाथि मुद्दा दर्ता भएको छ । पर्साका मुकेश चौरसिया हत्या प्रकरणमा सत्तारुढ नेकपाकै नेता राजकुमार गुप्तासहित १२ जनामाथि जाहेरी दर्ता गरिएको छ । गुप्ता केपी ओलिनिकट नेता मानिन्छन् । आक्रमण गर्ने दुईजना घटनालगत्तै उनको घरबाट पक्राउ परेका थिए । त्यसैले नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले मुख्य योजनाकार गुप्ता नै भएको आरोप लगाइरहेका छन् । नेकपाकै दुई पक्षबीच झडप हुँदा गम्भीर घाइते भएका चौरसियाको उपचारको क्रममा मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले मुकेश चौरसियाको हत्या अभियोग किटानी जाहेरी दर्ता नगरेपछि जिल्ला सरकारी वकिल कार्यालय पर्साले जाहेरी दर्ता गरेको नेकपा पर्साका इन्चार्ज रामचन्द्र साहले जानकारी दिए । जाहेरी दर्ता भएपछि चौरसियाको पोस्टमार्टम पनि हुने भएको छ । नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको चौरसियाको शवको भोलि (शुक्रबार) बिहान पोस्टमार्टम हुने र आफ्नै गाउँमा अन्त्येष्टि गरिने इन्चार्ज साहले बताए ।