बोध दिवसमा आयोजित तीन दिवसीय सत्संग तथा भण्डारा कार्यक्रम सम्पन्न – Jaleshwortoday

बोध दिवसमा आयोजित तीन दिवसीय सत्संग तथा भण्डारा कार्यक्रम सम्पन्न

 February 17, 2023  
tt

जलेश्वरटुडे समाचारदाता
धनुषा, ५ फाल्गुण

धनुषाको मिथिला न.पा.- २, बेलाचापी स्थित सतलोक आश्रम धनुषामा पूर्णब्रह्म कबीर उपासक समाज, नेपालको आयोजनामा जगतगुरु तत्वदर्शी सन्त रामपालजी महाराजको ३६ औं बोध दिवसको उपलक्ष्यमा आयोजित तीन दिवसीय अखण्ड पाठ तथा विशाल भण्डारा कार्यक्रम फाल्गुन ५ गते शुक्रबार परमात्मालाई भोग लगाएर सफलतापूर्वक सम्पन्न भएको छ। तीन दिवसीय उक्त कार्यक्रममा लाखौंको संख्यामा श्रद्धालुहरु सहभागी भए भने बहु संख्यामा नेता, मन्त्री, विभिन्न निकायका उच्च अधिकारी लगायतका विशिष्ट व्यक्तिहरुको पनि उपस्थिति रह्यो। कार्यक्रमको समापनमा सिरहा जिल्लाको प्रमुख जिल्ला अधिकारी ज्यु, एकडारा गाउँपालिका अध्यक्ष ज्युको पनि उपस्थिति थियो।

यस विशाल कार्यक्रममा देश विदेशबाट आएका श्रद्धालुहरु सहभागी भएर स्वयंसेवकको सेवा गर्नुका साथै ४१ युनिट रक्तदान पनि गरे। यसै क्रममा ३ नव जोडिहरुको दाइजो एवं आडम्बरमुक्त रमैणी विवाह पनि गराइयो। पूर्णब्रह्म कबीर उपासक समाज नेपाल द्वारा यस्ता कार्यक्रमहरु समय समयमा गराइरहेको र यस्ता कार्यक्रमले समाजलाई विकृतिमुक्त बनाउन एउटा पृथक किसिमको दिशानिर्देश गरेको कुरा पनि संस्थाका पदाधिकारीहरुले जनाए। दाइजोप्रथा, नशा सेवन, मांसाहार , भ्रष्टाचार, आदी सबै किसिमका विकृतिहरुबाट मुक्त गराई स्वच्छ, सभ्य, सुखी समाज निर्माण गरी धरतीलाई स्वर्ग बनाउने सन्त रामपालजी महाराजको उद्देश्य रहेको कुरा कार्यक्रममा प्रदर्शनीका माध्यमबाट बताइयो।

कार्यक्रममा आउने सर्व अतिथिका लागि शुद्ध घ्युमा बनेका लड्डु, जेरी, हलुवा प्रसाद एवं परम सन्त रामपालजी महाराजद्वारा लिखित ज्ञान गंगा, गीता तिम्रो ज्ञान अमृत, जीउने मार्ग जस्ता पुस्तकहरुको सेवा पनि कार्यक्रममा गरिएको थियो। आश्रममा सबै सेवा सुविधाहरु सर्व आगन्तुकका लागि नि:शुल्क रुपमा नै व्यवस्था गरिएको थियो।