अनियन्त्रित मदशाला बन्द गराऔं – Jaleshwortoday

अनियन्त्रित मदशाला बन्द गराऔं

 March 22, 2023  
Jaleshwor Today Editorial

नेपालको खास गरेर तराई क्षेत्रमा अनियन्त्रित तथा गैर कानूनी रुपमा संचालनमा रहेका मदशाला अर्थात मदिरा पसलका कारण दिनहुँ सामाजिक समस्याहरु बढदै गएको देखिन्छ । मदिरा पसलका कारण दुई पक्ष वीच झैझगडा हुने गरेको छ भने घर परिवार पनि बर्बाद भएको कैयौ उदाहरणहरु छन् । विशेष रुपमा अहिले मदिराको कारण मदिरा तथा धुम्रपान गर्नेहरुको स्वास्थ्य बिग्रनुको साथै घर परिवारको अमन चयन समेत गुमेको देखिन्छ । मदिरा खाने घर परिवारमा सानो—सानो कुरामा दिनहँु झगडा हुने गरेको तथा आवेशमा आएर अंगभंग समेत गरेको देखिन्छ । यसले समाजमा नकारात्मक प्रभाव पार्दछ । त्यसकारण यस्ता मदिरा,जाँड,रक्सी उत्पादन गर्ने कारखानाहरु संचालन भएको भए, त्यसको स्थानिय प्रशासनबाट अनुगमन हुनु आवश्यक छ भने त्यस्ता कारखानाहरुलाई बन्द गराई संचालकलाई कानूनी दायरामा ल्याउन आवश्यक छ । हाम्रो छिमेकी मुलुक भारतको बिहार राज्यमा मदिरा सेवन तथा खरिद बिक्री पूर्णरुपमा बन्द गरिएको छ । जसको कारण अहिले पहिले भन्दा धेरै नै बिहारमा शान्ति व्यवस्था सुध्रिएको देखिन्छ । नेपालमा समेत यस किसिमको कानुनी व्यवस्था लागु गरेर कार्यान्वयन गरिए पक्कै पनि नेपाल समेत मदिरा तथा जाँड रक्सी सेवनबाट हुने नकारात्मक प्रभावहरुबाट बच्ने थियो । तर बिडम्बना के छ भने अहिले नेपाल सरकारले कर तथा राजस्व संकलनको लागि अनियन्त्रित मदिरा पसलहरु ठाउँ—ठाउँमा खोल्न अनुमति दिइरहेको अवस्था छ । जसको औचित्य समाज बिगार्ने भन्दा अरु केहि देखिदैन । तर अहिले ज्ञान बाँडने नयाँ नीजि विद्यालय संचालनमा रोक लगाइएको छ जहाँबाट नेपाल सरकारले कर तथा राजस्व संकलन गर्ने ठूलो सम्भावना छ भने हाम्रो समाज समेत शिक्षित भएर सामाजिक परिवर्तन गर्न तर्फ अग्रसर हुने देखिन्छ । तर दारु भठठीहरुलाई छाडा राख्नु कुनै पनि तरिकाले राम्रो होइन । यसबारे सम्बन्धित सरोकारबालाहरुले समयमै चिन्तन गर्न आवश्यक रहेको देखिन्छ ।