विद्यालय तथा क्याम्पस स्तरमा विद्यार्थीहरुको मूल्याँकन गर्ने धेरै विधिहरु मध्ये महत्वपूर्ण लिखित परीक्षा प्रणाली हो । अहिले सामुदायिक विद्यालयहरुमा वार्षिक परीक्षा शुरु भई सकेको छ । वार्षिक परीक्षालाई मर्यादित बनाउन सबै सरोकारबालाहरुको जिम्मेबारी हो । विद्यार्थीहरुलाई परीक्षामा कुनै पनि किसिमले चिट चोर्न प्रयास गर्नु हुदैन । यदि त्यसो भएको पाइएमा नियम अनुसार त्यस्ता विद्यार्थीलाई दण्डीत गर्न आवश्यक हुन्छ । तर विद्यालय वा क्याम्सको मिलोमतोमा भएको चिट चोरी जघंय अपराध हो । यस्तो कार्य गर्ने र गराउने दुवै पक्षलाई कानुन बमोजिम दण्डीत गरेर यस्ता अमर्यादित कार्यलाई रोक्नु पर्दछ ।
त्यसैगरी परीक्षा अवलोकन गर्ने क्रममा अहिले स्थानिय निकायका जनप्रतिनिधि लगायत अन्य विभिन्न सरोकारबालाहरुको हुलको हुल कक्षा कोठामा प्रवेश गर्न दिनु हुदैन । तर कतिपय ठाउँहरुमा हुलको हुल प्रवेश गर्नुको साथ साथै फोटो समेत तानेर विद्यार्थीहरुको ध्यानलाई विचलित गरेको पाइएको छ । यस्ता क्रियाकलापहरु विद्यालयको प्रधानाध्यापक तथा केन्द्राध्यक्षबाट नियन्त्रित हुनु पर्दछ ।
चैत्र भित्रै एसइई परीक्षा समेत संचालन हुने छ । त्यसको लागि पनि अहिले देखि नै यस्ता क्रियाकलाप गर्न गराउनबाट परीक्षामा सहभागि हुने सबै शिक्षक तथा शिक्षिकाहरुलाई जानकारी गराउनु आवश्यक छ । तालिम तथा गोष्ठी भए पनि कार्यान्वयन पक्ष कमजोर देखिएकोले त्यहाँ पनि सम्बन्धित पर्यवेक्षक तथा केन्द्राध्यक्षले ध्यान दिन तथा निर्देशन दिन आवश्यक देखिन्छ । कतिपय नीजि विद्यालयमा समेत अमर्यादित तरिकाले विद्यार्थीहरुको परीक्षा हुने गरेकोले त्यसलाई सम्बन्धित विद्यालयले मर्यादित गर्न आवश्यक छ । यसको अनुगमन सम्बन्धित विद्यालयका संगठनका पदाधिकारीहरुले गर्न आवश्यक देखिन्छ । किनभने मर्यादित तथा चुस्त दुरुस्त परीक्षाबाट मात्र राम्रो जनशक्ति तयार गर्न सकिन्छ जसले देश बनाउनमा अहम भूमिका खेल्दछ । एसइई परीक्षामा समाबेश हुने परीक्षार्थीहरुले समेत आफ्नो मनोबल उच्च पारेर तथा आफ्नो मिहिनेतको भरमा परीक्षा दिई देशको राम्रो जनशक्ति बन्न प्रयास गर्न आवश्यक छ । एसइई परीक्षार्थीहरुलाई अग्रिम शुभकामना ।
