जलेश्वरटुडे समाचारदाता
धनुषा, २९ चैत्र
उपचार खर्च तिर्न नसक्दा जनकपुरधामको जनकपुर न्यूरो हस्पिटलबाट ३९ दिनपछि मन्तोरियाद देवी राय बन्धकमुक्त भएकी छन् । मन्तोरियालाई धनुषाको सबैला नगरपालिकाका मेयर कारीराम यादवले जिल्ला प्रशासन कार्यालय धनुषासंग समन्वय गरी बुधबार बन्धकमुक्त गराएका हुन् । मेयर यादवले हस्पिटलमा आफै पुगेर उनलाई बन्धनमुक्त गराइ घर पुर्याएका छन् । सबैला नगरपालिकाले एकलाख रुपैयाँ र बाँकी सहायोगीहरुबाट संकलन गरी चुक्ता गर्ने सर्तमा मेयर यादवले उनलाई अस्पतालबाट घर फर्काएका हुन् ।३६ दिनदेखि उनी उपचार खर्च तिर्न नसक्दा न्यूरो हस्पिटलमा बन्धक रहेको समाचार सोमबा सार्वजकि सम्बन्धित निकायको ध्यानाकर्षण भएको थियो । सोमबार नै सबैलाका मेयर यादव र जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत किरण कुमार मिश्र उनको अवस्था बुझ्न हस्पिटलमा पुगेका थिए । मंगलबार सबैला नगरपालिका कार्यपालिकाको बैठक बसेर एक लाख रुपैयाँ नगरपालिकाले उपचार खर्च उपलब्ध गराउने र हस्पिटलबाट बन्धनमुक्त गराउन पहल गर्ने निर्णय गरेको थियो । बुधबार मेयर यादव जिल्ला प्रशासन कार्यालय धनुषामामा पुगेर मन्तोरियालाई बन्धकमुक्त गराउने विषयमा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीसित छलफल गरेर मुक्त गराएका हुन् । सह प्रजिअ भण्डारीले अस्पताललाई तत्कालै फोन गरी बन्धक मुक्त गराउन निर्देशन दिएका थिए । न्यूरो हस्पिटल दर्ता बिनै एकवर्षदेखि संचालनमा रहेको समेत खुलासा भएपछि सह प्रजिअले बन्धकमुक्त नगराए तत्कालै कानुनी कारबाही चाल्ने चेतावनी समेत दिएका थिए । सो हस्पिटललाई के गर्ने विषयमा पत्र लेखेर जिल्ला प्रशासन कार्यायल धनुषाले सुझाव मागेको छ । ७ लाख भन्दा बढी जसोतसो उपचार खर्च तिरेपनि झण्डै ९ लाख रुपैयाँ तिर्न बाँकी रहँदा गत फागुन २० गतेदेखि नै मन्तोरिया हस्पिटलमा बन्धक थिइन् । उनीसंगै तीन सासाना छोराछोरी र वृद्ध ससुरा पनि हस्पिटलमै थिए । गत माघ १२ गते सबैलाको एक बैंकबाट पदैल घर फर्किरहेको बेला बा. ६१ प ६६३३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदै मन्तोरियालाई ४८ मिटरसम्म घसारेको थियो । गम्भीर घाइते उनलाई उनलाई प्रादेशिक असपताल जनकपुरमा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएको भन्दै न्युरो हस्पिटलमा रेफर गरिदियो । मोटरसाइकल धनुषाकै शहीदनगर नगरपालिका–१ बेमर्खी टोलका २५ वर्षीय दीपक कुमार रायले चलाइरहेका थिए भने पछाडि सवार थिए स्थानीय ३५ वर्षीय गजेन्द्र यादव । मोटरसाइकल चालक पक्राउ परेर जेल चलान छन् भने पछाडि बस्ने फरार छन् । मोटरसाइकल धनी काठमाडौंका छन् । ठक्कर दिने पक्षबाट अहिलेसम्म एक सुक्को पनि उपचार खर्च दिएको छैन । सम्पतिको नाममा दुई धुर घडेरीमा मात्र उनको छाप्रो घर छ । श्रीमान वैदेशिक रोजगारमा कतारमा छन् । तर कम्पनी टुडेर घर फर्किने अवस्थामा छन् । सातलाख भन्दा बढी रकम ऋण तथा गाउँसमाजले चन्दा संकलन गरी दिएपछि हस्पिताललाई तिरेका थिए । बाँकी रकम चुक्ता गरे मात्र घर जान दिने भन्दै हस्पिटलले बन्धक बनाएको थियो । गम्भीर अवस्थामा भर्ना भएकी मन्तोरियाको ज्यान जोगाउन हस्पिटलले हरसम्भव प्रयास समेत गरेको थियो । हस्पिटलको बाँकी रकम तिर्न र घरमा खान लागउन आर्थिक सहयोग गरिदिन मन्तोरियाले गुहार गरेकी थन् ।
