जनकपुरधाममा महेन्द्रनारायण निधि टी–२० प्रतियोगिता हुँदै – Jaleshwortoday

जनकपुरधाममा महेन्द्रनारायण निधि टी–२० प्रतियोगिता हुँदै

 May 27, 2023  
kk

जलेश्वरटुडे समाचारदाता
धनुषा, १३ जेष्ठ

जनकपुरधाममा सोमबारदेखि महेन्द्रनारायण निधि टी–२० क्रिकेट प्रतियोगिता हुन लागेको छ ।

क्रिकेट संघ मधेस प्रदेशको आयोजनामा हुन लागेको टी–२० प्रतियोगितामा सातै प्रदेशको टिम सहभागी रहने आयोजकले जनाएको छ ।

शनिबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै मधेस प्रदेश क्रिकेट संघका अध्यक्ष हिरा भगतले यस प्रतियोगितामा मधेस प्रदेशसहित सातै प्रदेशको टिम सहभागी हुने तथा जेठ २६ गतेसम्म प्रतियोगिता चल्ने जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टिमलाई ३ लाख र रनरअप हुने टिमका लागि २ लाखको पुरस्कार रहेको अध्यक्ष भगतले बताए ।

प्रतियोगितामा ७० लाख खर्च हुने अनुमान गरिएकोमा मधेश सरकारले ४० लाख रुपैयाँ दिने अध्यक्ष भगतले बताए ।

यस्तै, प्रतियोगिताको प्रत्यक्ष प्रसारणमा खर्च हुने पाँच लाख क्यानले दिने र बाँकी रकम विभिन्न स्पोन्सरहरुबाट संकलन गरिने उनले बताए ।

जनकपुरधाम स्थित निर्माणाधीन रामजानकी बहुउदेश्यीय रंगशालामा प्रतियोगिता हुने जनाइएको छ ।