जलेश्वर नगरपालिकामा कित्ता काट खुल्यो – Jaleshwortoday

जलेश्वर नगरपालिकामा कित्ता काट खुल्यो

 June 5, 2023  
hh

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २१ जेष्ठ

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेको जग्गाको कित्ता काट खुलाएको छ ।
जलेश्वर नगरपालिकाले आईतबार पत्रकार सम्मेलनको आयोजना गर्दै जलेश्वर नगरपालिका क्षेत्रभित्रको ‘भू–उपयोग क्षेत्र वर्गीकरण’ गर्दै कित्ता काट खुलाएको मेयर सुरेश साह सोनारले जानकारी दिनुभयो ।
भू–उपयोग नियमावली २०७९ को नियम ५ उपनियम (१) ले दिएको अधिकार प्रयोग गरी जलेश्वर नगरपालिकाको स्थानीय भू–उपयोग परिषदले आफ्नो क्षेत्राधिकार भित्रको जग्गाको भू–उपयोग क्षेत्र वर्गीकरणको कार्य सम्पन्न गरेको मेयर साहले पत्रकारहरुबीच सार्वजनिक गर्नुभयो ।
जलेश्वर नगरपालिकाले आफ्नो क्षेत्राधिकार भित्रको जग्गाहरुलाई कृषि क्षेत्रतर्फ ३१३५.८९ हेक्टर, व्यवसायिक क्षेत्रतर्फ ७५.३४ हेक्टर, साँस्कृतिक क्षेत्रतर्फ ८.४७ हेक्टर, नदीजन्य÷पोखरी क्षेत्रतर्फ १०६.२७ हेक्टर, औद्योगिक क्षेत्रतर्फ १७.२६ हेकटर, सार्वजनिक क्षेत्रतर्फ १७६.११ हेक्टर र आवासिय क्षेत्रतर्फ ९०३.३५ हेक्टर जग्गा वर्गीकरण गरेको हो ।
जलेश्वर नगरपालिकाले वर्गीकरण गरेको जग्गाहरु जम्मा ६२ हजार कित्ता रहेको र सोमाबरदेखि सबै जग्गाको कित्ताकाट खुल्ला भएको जानकारी पत्रकार सम्मलेनमा गराइएको छ ।
जग्गा वर्गीृकरण सार्वजनिकीकरण कार्यक्रममा जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनार, प्रमुख प्रशासकिय अधिकृत मित्रलाल ढकाल, ईन्जिनियर पवन कुमार झा, अमिन रामजीवन साह, नापी कार्यालयका प्रतिनिधि अधिकृत ज्ञानकुमार यादव सहित संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
जग्गा कित्ताकाट रोकिएको कारण वर्षौदेखि सास्ती भोग्नुको साथै विभिन्न कामहरु गर्न÷गराउन नपाएका जलेश्वर नगरबासीहरुले सोमबारदेखि जग्गा सम्बन्धी कामहरु गर्न पाउने भएका छन् ।