अर्थतन्त्र चलायमान बनाउन अर्थमन्त्रीले बैंकरसँग मागे सहयोग – Jaleshwortoday

अर्थतन्त्र चलायमान बनाउन अर्थमन्त्रीले बैंकरसँग मागे सहयोग

 August 13, 2023  
hh

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २८ श्रावण

अर्थतन्त्र चलायमान बनाउन अर्थमन्त्री डा. प्रकाशशरण महतले सहयोग मागेका छन् । आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर, बैंकर तथा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका प्रमुखहरुसँगको छलफलमा मन्त्री महतले अर्थतन्त्र चलायमान बनाउन सबैको साथ आवश्यक रहेको बताएका हुन् ।

‘अर्थतन्त्र राम्रो भयो भने बैंक फाइदामा जान्छ, लगानीको वातावरण राम्रो हुन्छ । अर्थतन्त्र वृद्धि हुन्छ,’ उनले भने, ‘यसले सरकारलाई पनि राम्रो गर्छ, राजस्व बढ्छ ।’

सरकार, निजी क्षेत्र र बैंक मिलेरै यस्तो वातावरण बनाउन सकिने उनको भनाइ छ । ‘सबै मिलेर काम गरौं, हामी पनि एक अर्कालाई सघाउने हो,’ उनले भने ।

बैंकरले टास्क फोर्सको माग गरेको सन्दर्भमा उनले सरकारले त्यसलाई मध्यनजर गर्ने बताए । निजी क्षेत्रको गुनासोबारे बोल्दै उनले भने, ‘तरलता छ, पैसा, रेमिट्यान्स बढेको छ, पर्यटक बढेको छ, तर, आर्थिक गतिविधि बढेन, लगानी बढेन ।’

रियल इस्टेटमा गएको लगानी समस्यामा परेको सन्दर्भ निकाल्दै उनले स–साना प्लटिङ धेरैमा लगानी जाँदा समस्या आएको बताए । आफ्नो लागि मात्र जग्गा किन्न नभई डेढ गुणा बढ्छ, दुई गुणा बढ्छ भन्ने लोभमा गरिएका स–साना लगानीले बढी समस्या निम्तिएको उनको भनाइ छ । यसलाई सल्टाउन कित्ताकाट खुला गरिएको उनले बताए ।

निर्माण क्षेत्रको आन्दोलनबारे बोल्दै उनले यसमा भने धेरै समस्या नरहेको बताए । जेठ र असारमा मात्र झण्डै ७० अर्ब भुक्तानी गरिएको र अब ७/८ अर्ब बाँकी रहेको भन्दै उनले यो रकम समेत प्रक्रिया मिलाएर भुक्तानी गरिने उनको भनाइ छ ।