उद्योग वाणिज्य संघको अगुवाईमा सस्ता बजार लाग्दै – Jaleshwortoday

उद्योग वाणिज्य संघको अगुवाईमा सस्ता बजार लाग्दै

 October 7, 2023  
ff

जलेश्वरटुडे समाचारदाता
धनुषा, २० असोज

सस्ता बजारको नामले जनकपुरधाममा प्रत्येक वर्ष झै यस वर्ष पनि विजयादशमी लक्षित बजार लाग्ने भएको छ । यस अघिका दिनमा धनुषाको प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा लाग्ने मेला यस वर्ष उद्योग बाणिज्य संघको अध्यक्षता र अगुवाईमा लाग्ने भएको छ ।
बजारको अनुगमन सहायक प्रमुख जिल्ला अधिकारीको अगुवाईमा हुने छ भने धनुषाका सिडिओ, जनकपुरधामका मेयर, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक, नेपाल पत्रकार महासंघका अध्यक्ष सम्मिलत संरक्षक तथा सल्लाहकार समिति थप गठन गरि बजारको अभिभावकत्व प्रदान गर्ने निर्णय भएको संघका अध्यक्ष जितेन्द्र महासेठले बताए । यद्यपि उनले जनकपुरधामका मेयर र नेपाल पत्रकार महासंघका अध्यक्ष संग सो विषयमा सहमती लिन वाँकी रहेको पनि बताए । उनले बजार व्यवस्थापनका लागि विभिन्न उपसमितिहरु समेत गठन गर्ने निर्णय भएको बताए । असोज २८ गते घटस्थापनाका दिन देखि कार्तिक पाँच गते अष्टमी तिथि सम्म गोपाल धर्मशालामा बजार लाग्ने जहाँ दैनिक उपभोग्य, चाडपर्वका सरसमान देखि विभिन्न समानहरु सुपथ र शुलभ तरिकाले एकै ठाँउमा उपलब्ध हुने उद्देश्य राखिएको छ । बैठकमा धनुषाका सिडिओ, प्रहरी प्रमुखहरु, संघका पदाधिकारी, पुर्व पदाधिकारीहर र सदस्यहरुका साथै नेपाल पत्रकार महासंघ, नेपाल रेडक्रस सोसाईटी, उद्योगी व्यवसायीहरुको उपस्थिती थियो ।