महोत्तरीको जलेश्वरमा नेकपाको शक्ति प्रदर्शन – Jaleshwortoday

महोत्तरीको जलेश्वरमा नेकपाको शक्ति प्रदर्शन

 December 4, 2020  
Comunist Rally

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १८ मंसिर

एक महिना अघि महोत्तरीको मटिहानी नगरपालिकामा भएको आक्रमण घटना विरुद्ध नेपाल कम्युनिष्ट पार्टी नेकपाले बिहीबार महोत्तरीको सदरमुकाम जलेश्वरमा शक्ति प्रदर्शन गरेको छ ।
हजारौंको संख्यामा जिल्ला भरिबाट नेता कार्यकर्ता उतारेर नेकपाले जलेश्वरको विभिन्न भागमा प्रदर्शन गर्दै प्रदर्शन गरेको हो । नेकपाका स्थानीय नेता विजय चौधरी लगायत कार्यकर्तामाथि आक्रमण गराउने मटिहानीका मेयर हरि मण्डल लगायत घटनामा संलग्नमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा नेकपाका केन्द्रियदेखि स्थानीयतहसम्मका नेता कार्यकर्ताहरु सहभागि भएका थिए ।
गएको कात्तिक १० गते दसैंका दिन राति मटिहानी–७ मा दुई पक्षबीच विवाद भएको थियो । नगर प्रमुख मण्डल पक्षधर तथा मटिहानीकै केही स्थानीयहरुको समूह एउटा रेष्टूराँमा बसेका बेला उनीहरुबीच नगरपालिकाका कामकारवाहीको विषयलाई लिएर झडप भएको थियो । झडपमा परी पछिल्लो प्रतिनिधिसभाका निर्वाचनमा नेकपा प्रत्यासी रहेका मटिहानी– ८ का ५७ वर्षीय विजय चौधरी र उनका भाई ४८ वर्षीय जितेन्द्र चौधरी तथा मटिहानी– ७ का ५३ वर्षिय गणेश प्रसाद साह लगायत घाइते भएका थिए । मेयर मण्डलले भने उक्त झडपमा आफ्नो संलग्नता नरहेको दावी गर्दै आएका छन् भने नेकपाकै नेता कर्यकर्ताले आक्रमण गरेपछि झडप भएको बताउँदै आएका छन् ।