जय ट्रफीमा स्पीनरको कसिलो बलिङमा ब्याटरको संघर्ष – Jaleshwortoday

जय ट्रफीमा स्पीनरको कसिलो बलिङमा ब्याटरको संघर्ष

 January 5, 2025  
99

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, २१ पौंष

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आइतबारदेखि सुरू भएको जय ट्रफी मेन्स एलिट कप २०८१ अन्तर्गत आइतबार पहिलो दिनको दुवै खेल सकिएको छ ।

आइतबार पर्साको वीरगन्जमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब तथा धनुषाको जनकपुरमा बागमती प्रदेश र मधेश प्रदेशबीच पहिलो दिनको खेल भएको थियो ।

पर्सामा टस हारेर पहिले ब्याटिङ गरेको आर्मी मध्यम योगफलमा सीमित भएको थियो । आर्मी ३४.४ ओभरमा १२१ रनमा समेटियो । कुशल मल्लले सर्वाधिक २५ रन बनाए भने भीम सार्कीले २२ र कप्तान विनोद भण्डारीले २१ रन बनाए ।

पुलिसका ललित राजवंशी एक्लैले सात विकेट लिए । ललितले १७.४ ओभरमा ४७ रन दिएर ७ विकेट लिएका हुन् । त्यस्तै कुशल भुर्तेल, सर्वन यादव र राशिद खानले १-१ विकेट हात पारे । ललितले सन्तोष कार्की, तृतराज दास, सोमपाल कामी, बसिर अहमद, विवेक यादव, शाहब आलम र आकाश चन्दको विकेट लिएका थिए ।

जवाफमा पुलिसले पहिलो दिनको समाप्तिमा २४ ओभर खेलेर ७ विकेटको क्षतिमा १०३ रन बनाएको छ । पुलिस अब अग्रताबाट १८ रन मात्र पछाडि छ । उसका गुल्शन झा ३४ रनमा अविजित छन् । आर्मीका साहब आलमले ५ विकेट लिँदा सोमपाल कामी र पवन कार्कीले १-१ विकेट लिएका छन् ।

त्यसैगरी जनकपुरमा भइरहेको बागमती प्रदेश र मधेश प्रदेशबीचको अर्को खेलमा टस जितेर ब्याटिङ गरेको मधेशले ३५.२ ओभरमा अलआउट हुँदै १०२ रन बनाएको थियो । मधेशका मयन यादवले सर्वाधिक २१ रन बनाए । बागमतीका सन्दीप लमािछानेले ५ विकेट लिँदा सुर्य तामाङले ३ विकेट तथा नन्दन यादव र प्रतिश जिसीले १-१ विकेट लिए ।

जवाफमा बागमतीले १३ ओभर खेल्दा २ विकेट गुमाएर ३४ रन बनाएको छ । बागमतीका शुभ कंसाकार २२ तथा इशान पाण्डे ९ रन बनाएर खेलिरहेका छन् । मधेशका रुपेश सिंह र विशाल पटेलले १-१ विकेट लिएका छन् ।

पहिलो दिनको खेलमा स्पीनरहरूले घातक बलिङ गर्दा ब्याटरहरूले संघर्ष गरे । पहिलो दिन खसेका कुल २९ विकेटमध्ये २२ विकेट स्पीनरको नाममा रह्‍यो । तीन खेलाडीले ५-विकेट फिगर पूरा गरेकोमा ललितले ७ विकेट नै लिए ।

सोमबार दुवै खेलको दोस्रो दिनको खेल विहानदेखि सुरू हुनेछ ।