आरजे इर्शाद शेख
महोत्तरी , ४ असार
महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ४४ करोड ५० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। नगरप्रमुख हरिप्रसाद मण्डलले नगरपालिकाको १५औं नगरसभाको खुला सत्रमा नीति, कार्यक्रमसहित बजेट सार्वजनिक गरेका हुन्।
प्रस्तुत बजेटमा विभिन्न स्रोतहरूबाट हुने आम्दानी यसप्रकार छन्:
राजस्व बाँडफाँडबाट: १० करोड ५ लाख
संघीय सरकारबाट: २८ करोड १० लाख
प्रदेश सरकारबाट: १ करोड २६ लाख
आन्तरिक स्रोतबाट: ५ करोड ९० लाख
मेयर मण्डलका अनुसार बजेट र कार्यक्रममाथि नगरसभामा छलफल गरी त्यसपछि पारित गरिनेछ।
तीन क्षेत्रलाई मुख्य प्राथमिकता
मेयर मण्डलले आगामी वर्षको नीति तथा कार्यक्रममा कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखिएको जानकारी दिए। यी तीन मुख्य क्षेत्रसँगै नगरको धार्मिक, ऐतिहासिक र पर्यटकीय विकासतर्फ पनि विशेष ध्यान दिइने उनले बताए।
उनले भने, “मटिहानीको मुख्य पहिचान नै यसको ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदा हो। यही पहिचानको संरक्षण र प्रवर्द्धन गर्दै विकासका मूल फुटाउने योजनासहित हामी अघि बढ्दैछौं।”
मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो नगरसभाबाट मेयर मण्डलले केही महत्वाकांक्षी योजनासमेत सार्वजनिक गरेका छन्। उनले कृषि तथा पशुपालनको क्षेत्रमा थप योजनाहरूसहित यस क्षेत्रको विकासमा निरन्तरता, व्यावसायिक खेती र पशुपालनमा युवाको सहभागिता लगायतमा काम गर्ने बताए ।
नगर प्रमुख मण्डलको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा नगरका जनप्रतिनिधि, सरोकारवाला निकाय, कर्मचारी र स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो।
ने बताए ।
