मो. इर्शाद
महोत्तरी, ३० चैत्र
नेपाल–भारत सीमा क्षेत्रमा पछिल्लो समय बढाइएको कडाइले सीमावर्ती नेपालीहरूको दैनिकीमा प्रत्यक्ष असर पारेको छ। नेपालतर्फ भारतीय सवारीमाथि निगरानी कडा बनाइएपछि त्यसको प्रतिक्रियास्वरूप भारततर्फ नेपाली नम्बर प्लेटका सवारीलाई इन्धन दिन बन्द गरिएको छ।
भारतको वैरगनिया क्षेत्र नजिकका पेट्रोल पम्पहरूले नेपाली सवारीलाई पेट्रोल नदिने सूचना नै टाँसेका छन्, जसले सीमा पार आवतजावत र दैनिक किनमेलमा अवरोध सिर्जना गरेको छ।
स्थानीयका अनुसार पहिले सहज रूपमा इन्धन र आवश्यक सामग्री ल्याउन सकिने भए पनि अहिले समस्या बढेको छ। कतिपयले बाटोमै इन्धन नपाएर सवारी धकेल्नुपरेको गुनासो गरेका छन्।
विश्लेषकहरूका अनुसार भारतमा पेट्रोल सस्तो हुनु, तस्करीको आशंका र नेपालले भारतीय सवारीमाथि कडाइ गर्नुजस्ता कारणले यस्तो अवस्था आएको हुनसक्छ।
यसबीच, दुवै देशबीचको समन्वय अभावले विशेषगरी मधेशका सीमावर्ती नागरिकहरू मारमा परेका छन्।
