दिपक श्रेष्ठ मण्डल
जानकपुरधाम १८ जेष्ठ
१६औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८३ मा मधेश प्रदेशको प्रतिनिधित्व गर्दै सहभागी हुन जाने खेलाडी, प्रशिक्षक, व्यवस्थापक तथा टोली नेतृत्वलाई मधेश खेलकूद परिषदले भव्य रूपमा विदाई तथा शुभकामना प्रदान गरेको छ।
“खेली मधेश, जिती मधेश” भन्ने नारासहित परिषदद्वारा सञ्चालित बन्द प्रशिक्षण कार्यक्रममार्फत तयार गरिएको प्रदेश स्तरीय टोलीको सम्मानमा आयोजित उक्त विदाई तथा शुभकामना कार्यक्रम मधेश खेलकूद परिषदका सदस्य सचिव शिवजी प्रसाद कानू को अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि खेलकूद तथा समाज कल्याण मन्त्रालयका नवनियुक्त मन्त्री लखन दासले खेलाडीहरूलाई अनुशासन,आत्मविश्वास र उच्च खेलभावनासहित प्रतियोगितामा सहभागी भइ मधेश प्रदेशको गौरवलाई अझ उँचो बनाउन आग्रह गर्नुभयो। उहाँले खेलकूद क्षेत्रको विकास र खेलाडीहरूको हितका लागि मन्त्रालय पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि स्पष्ट पार्नुभयो।
विशिष्ट अतिथि मन्त्रालयका सचिव सुशील साह ले खेलकूदले प्रदेशको पहिचान र प्रतिष्ठा स्थापित गर्ने महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै सम्पूर्ण खेलाडीलाई सफलताको शुभकामना दिनुभयो।
कार्यक्रममा मधेश खेलकूद परिषदका बोर्ड सदस्यहरू लव अधिकारी र दीपेन्द्र गोइत, साथै प्रशासन प्रमुख मोहमद ज्याउल इस्लाम को उपस्थिति रहेको थियो।
मधेश खेलकूद परिषदका तालिम तथा प्रशिक्षण विभाग प्रमुख भरत यादव द्वारा सञ्चालन गरिएको कार्यक्रममा सहभागी खेलाडी, प्रशिक्षक, व्यवस्थापक, उपनेता तथा टोली नेताहरूलाई सफल प्रदर्शनका लागि शुभकामना दिँदै औपचारिक रूपमा विदाई गरिएको हो।
यस वर्ष मधेश प्रदेशबाट कुल ६ विधामा ९८ खेलाडी, ६ व्यवस्थापक, ९ प्रशिक्षक, १ टोली नेता र १ उप-नेता सहितको सशक्त टोली प्रतियोगितामा सहभागी हुँदैछ।
१६औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही जेठ २० गते काठमाडौंस्थित दशरथ रंगशालामा औपचारिक रूपमा उद्घाटन हुने कार्यक्रम रहेको छ।
मधेश खेलकूद परिषदले बन्द प्रशिक्षण कार्यक्रमले खेलाडीहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुगेको उल्लेख गर्दै सम्पूर्ण टोलीलाई प्रदेशको गौरव बढाउने विश्वाससहित सफलताको शुभकामना प्रदान गर्दै विदाई गरिएको जनाएको छ।
