जुनोटिक रोग नियन्त्रणका लागि पशुपालक किसानलाई तीन दिने तालिम सुरु – Jaleshwortoday

जुनोटिक रोग नियन्त्रणका लागि पशुपालक किसानलाई तीन दिने तालिम सुरु

 June 11, 2026  
2

रेविता कुमारी साह
जनकपुरधाम, २८  जेष्ठ
जनकपुरधाम उपमहानगरपालिकाको कृषि तथा पशुपन्छी विकास शाखाको आयोजनामा पशुपालक किसानहरूलाई लक्षित गर्दै जुनोटिक (जनावरबाट मानिसमा सर्ने) रोग सम्बन्धी तीनदिने तालिम आज बिहीबार देखि सुरु भएको छ। “स्वस्थ पशु, सुरक्षित मानिस, समृद्ध समाज” भन्ने नाराका साथ आयोजित तालिमको उद्घाटन जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले गरेका हुन्।

कृषि तथा पशुपन्छी सेवा केन्द्र,जनकपुरधाम–१७ मा आयोजित कार्यक्रम कृषि तथा पशुपन्छी विकास शाखाका प्रमुख पशु चिकित्सक डा. अमर साहको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा पशुपालक किसान, प्राविधिक, कृषि तथा पशु सेवा क्षेत्रमा कार्यरत व्यक्तिहरूको सहभागिता रहेको थियो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मेयर मनोज कुमार साहले पशु र मानव स्वास्थ्य एकअर्कासँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेको उल्लेख गर्दै जुनोटिक रोगबारे समयमै जानकारी र सचेतना आवश्यक रहेको बताए। उनले पशुपालन क्षेत्रलाई आधुनिक र सुरक्षित बनाउन स्थानीय सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै किसानहरूलाई तालिमबाट प्राप्त ज्ञान व्यवहारमा उतार्न आग्रह गरे।
मेयर साहले भने, “पशुधन हाम्रो अर्थतन्त्रको महत्वपूर्ण आधार हो। पशुमा लाग्ने रोगको प्रभाव मानिससम्म पुग्न सक्ने भएकाले रोग नियन्त्रण, सरसफाइ र सुरक्षाका उपाय बारे किसान लाई जानकारी गराउनु आवश्यक छ। यस्ता तालिमले पशुपालन व्यवसायलाई थप सुरक्षित र उत्पादनमुखी बनाउन मद्दत पुर्‍याउँछ।

कार्यक्रमका अध्यक्ष डा. अमर साहले जुनोटिक रोगको जोखिम न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि गर्नु तालिमको मुख्य उद्देश्य रहेको बताए। उनले जनावरबाट मानिसमा सर्ने विभिन्न रोगको पहिचान, रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापन बारे सहभागीलाई व्यावहारिक र वैज्ञानिक जानकारी प्रदान गरिने जानकारी दिए।
उनका अनुसार तालिममा ब्रुसेलोसिस, रेबीज, बर्ड फ्लु लगायतका जुनोटिक रोगहरूको पहिचान, रोकथामका उपाय, खोप व्यवस्थापन, व्यक्तिगत सरसफाइ, पशु बिमा,जैविक सुरक्षा (बायोसेक्युरिटी) तथा पशुपालनमा अपनाउनुपर्ने सावधानी सम्बन्धी विषयमा प्रशिक्षण दिइनेछ।
जेष्ठ २८ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने उक्त तालिममा सहभागी किसानहरूलाई पशु स्वास्थ्य संरक्षण, रोग नियन्त्रण र सुरक्षित पशुपालनका व्यवहारिक पक्षबारे प्रशिक्षित गरिनेछ। उपमहानगरपालिकाले यस कार्यक्रमबाट पशुपालक किसानहरूको क्षमता अभिवृद्धि हुनुका साथै पशु तथा मानव स्वास्थ्य संरक्षणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। पशु बिकास अधिकृत प्रभाकर झा, नेपाली कांग्रेसका नगर कोषाध्यक्ष विरेन्द्र कुमार यादव लगायतको सहभागीहरूले समेत यस्ता तालिमले पशुपालन व्यवसायमा देखिने समस्याको समाधान खोज्न र रोग नियन्त्रणका उपायबारे जानकारी प्राप्त गर्न सहयोग पुग्ने बताएका थिए।