भंगहाका आठ विद्यालयमा डिजिटल सुरक्षा सम्बन्धी विद्यार्थी अभिमुखीकरण सम्पन्न: ३०९ जना विद्यार्थी लाभान्वित – Jaleshwortoday

भंगहाका आठ विद्यालयमा डिजिटल सुरक्षा सम्बन्धी विद्यार्थी अभिमुखीकरण सम्पन्न: ३०९ जना विद्यार्थी लाभान्वित

 July 14, 2026  
5

मो. इर्शाद

महोत्तरी, ३० असार

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा दलित समाज उत्थान समिति नेपाल, महोत्तरीको सहजीकरणमा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजना (आईसीडीपी) अन्तर्गत भंगाहा नगरपालिकाका आठ वटा विद्यालयमा डिजिटल सुरक्षा सम्बन्धी विद्यार्थी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ।
असार महिनाको अन्तिम सातामा सञ्चालन गरिएको कार्यक्रमको उद्देश्य बालबालिका तथा किशोर–किशोरीहरूमा मोबाइल फोन, इन्टरनेट र सामाजिक सञ्जालको बढ्दो प्रयोगलाई सुरक्षित, जिम्मेवार र सचेत बनाउनु रहेको आयोजकले जनाएको छ।
अभिमुखीकरणमा मोबाइल तथा इन्टरनेटको जिम्मेवार प्रयोग, साइबर अपराधका विभिन्न स्वरूप, व्यक्तिगत सूचना तथा गोपनीयताको सुरक्षा, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ठगीबाट बच्ने उपाय, डिजिटल हिंसाको जोखिम तथा जिम्मेवार डिजिटल नागरिकका रूपमा अपनाउनुपर्ने व्यवहारका विषयमा जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा परियोजनाका प्रतिनिधि, नेपाल प्रहरी, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। स्थानीय प्रहरीले पछिल्लो समय बढ्दै गएको साइबर अपराधका घटनाबारे जानकारी गराउँदै डिजिटल माध्यमको प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीका विषयमा उदाहरणसहित सहजीकरण गरेको थियो। साथै, विद्यार्थीहरूले आफ्ना जिज्ञासा विज्ञसमक्ष राख्दै प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसरसमेत पाएका थिए।

परियोजनाअन्तर्गत आठ विद्यालयमा सञ्चालन गरिएको उक्त कार्यक्रमबाट करिब ३०९ जना विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। सहभागीहरूले सुरक्षित इन्टरनेट प्रयोग, व्यक्तिगत विवरणको गोपनीयता कायम राख्ने तथा साइबर अपराधबाट जोगिने उपायबारे उपयोगी जानकारी प्राप्त भएको प्रतिक्रिया दिएका छन्।

परियोजनाले आगामी दिनमा पनि विद्यालय तथा समुदायस्तरमा बाल संरक्षण, सुरक्षित डिजिटल अभ्यास, गुणस्तरीय शिक्षा तथा बालअधिकार प्रवर्द्धनसम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।