खाद्य स्वच्छता प्रवर्द्धनमा जोड, प्रति जैविक प्रतिरोध नियन्त्रणका लागि बहु-क्षेत्रीय सहकार्य आवश्यक – Jaleshwortoday

खाद्य स्वच्छता प्रवर्द्धनमा जोड, प्रति जैविक प्रतिरोध नियन्त्रणका लागि बहु-क्षेत्रीय सहकार्य आवश्यक

 July 14, 2026  
4

दिपक श्रेष्ठ मण्डल
जनकपुरधाम, ३० असार
खाद्य स्वच्छता प्रवर्द्धन तथा खाद्य पदार्थ जन्य प्रति जैविक प्रतिरोध (Food-borne Antimicrobial Resistance–AMR) न्यूनीकरणका लागि बहु-क्षेत्रीय सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले जनकपुरधाममा सचेतना कार्यक्रम आज मंगल बार सम्पन्न भएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय (DFTQC), धनुषाले संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (FAO) नेपालको सहयोगमा आयोजना गरेको कार्यक्रममा खाद्य स्वच्छता, सुरक्षित खाद्य प्रणाली, प्रति जैविक औषधिको विवेकपूर्ण प्रयोग तथा One Health अवधारणाअनुसार मानव, पशु र वातावरणीय स्वास्थ्य बीच समन्वयको आवश्यकता औँल्याइएको थियो।

कार्यक्रममा एफएओ नेपालका डा. साकार शिवाकोटीले खाद्य जन्य प्रतिजैविक प्रतिरोधसम्बन्धी परियोजनाको प्रगति, राष्ट्रिय तथा मधेश प्रदेशको AMR अवस्था, चुनौती र आगामी कार्यदिशा बारे प्रस्तुति दिनुभयो। उहाँले मानव, पशु, खाद्य र वातावरण बीच समन्वित प्रयास तथा सरकारी निकाय, विकास साझेदार र सरोकारवालाबीच सहकार्य सुदृढ बनाउनुपर्नेमा जोड दिएका थए।

प्रमुख अतिथि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. सञ्जय कुमार यादवले प्रतिजैविक औषधिको सुरक्षित, जिम्मेवार र आवश्यक पर्दा मात्र प्रयोग गर्नुपर्ने बताउँदै AMR विश्वव्यापी जनस्वास्थ्य चुनौतीका रूपमा विकसित भइरहेको उल्लेख गर्नुभयो। यसको नियन्त्रणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो।
विशेष अतिथि धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले खाद्य सुरक्षा सुनिश्चित गर्न प्रतिजैविक औषधिको विवेकपूर्ण प्रयोग र रोकथाममुखी अभ्यासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै नियामक निकाय, स्थानीय तह, निजी क्षेत्र, उत्पादक र उपभोक्ता बीच समन्वय आवश्यक रहेको बताउनुभयो।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा आयोजित प्यानल छलफलमा खाद्य सुरक्षा, प्रतिजैविक औषधिको जिम्मेवार प्रयोग, उपभोक्ता अधिकार, One Health अवधारणा, खाद्य स्वच्छता ऐन–२०८१ को प्रभावकारी कार्यान्वयन, एकीकृत निगरानी प्रणाली तथा अन्तरनिकाय समन्वयका विषयमा गहन छलफल भएको थियो। सहभागीहरूले AMR मानव स्वास्थ्य, पशु स्वास्थ्य, खाद्य सुरक्षा र वातावरणसँग जोडिएको साझा चुनौती भएकाले सबै क्षेत्रको संयुक्त प्रयास अपरिहार्य रहेको निष्कर्ष निकाले।
कार्यक्रममा जनस्वास्थ्य, कृषि, पशुपन्छी तथा मत्स्य विकास, खाद्य उत्पादक, एग्रोभेट व्यवसायी, स्थानीय तहका प्रतिनिधि र सञ्चारकर्मीसहित ८५ जनाको सहभागिता रहेको थियो। सहभागीहरूले सुरक्षित खाद्य उत्पादन, खाद्य स्वच्छता र प्रतिजैविक औषधिको विवेकपूर्ण प्रयोगसम्बन्धी सन्देश समुदायसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए।
समापन कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, मधेश प्रदेशका प्रमुख बिमल दाहालले खाद्य स्वच्छता, खाद्य सुरक्षा र प्रतिजैविक प्रतिरोध नियन्त्रण सरकार, निजी क्षेत्र, उत्पादक, उपभोक्ता तथा सबै सरोकारवालाको साझा जिम्मेवारी भएको बताउनुभयो। उहाँले वैज्ञानिक निगरानी, प्रमाणमा आधारित नीति कार्यान्वयन र बहु-क्षेत्रीय सहकार्यलाई प्रभावकारी बनाउँदै सुरक्षित खाद्य प्रणाली निर्माणमा सबै पक्षले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो।