फिल्म ‘गोरखा’बाट पछि हटे अक्षय कुमार, कथावस्तुको प्रामाणिकतामा उठाए प्रश्न – Jaleshwortoday

फिल्म ‘गोरखा’बाट पछि हटे अक्षय कुमार, कथावस्तुको प्रामाणिकतामा उठाए प्रश्न

 January 5, 2023  
rr

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २१ पौंष

कथावस्तुमा असमझदारी भएपछि बलिउड अभिनेता अक्षय कुमारले निर्देशक आनन्द एल रायको फिल्म ‘गोरखा’मा अभिनय नगर्ने भएका छन् । रचनात्मक मतैक्यता नहुँदा अक्षयले फिल्म छाडेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सन् १९७१ को भारत-पाकिस्तान युद्धमा भारतीय सेनाका मेजर जनरल इयान कार्डोजोको वीरतामा फिल्म आधारित थियो । यो फिल्मलाई अक्टोबर २०२१ मा घोषणा गरिएको थियो । कथाको प्रामाणिकतामा प्रश्न उठेपछि अक्षयले फिल्मबाट बाहिरिने निर्णय गरेको स्रोतले खुलासा गरेको छ । स्रोतलाई उध्दृत गर्दै हिन्दूस्तान टाइम्स लेख्छ, ‘युद्धको समयमा मेजर जनरल कार्डोजोसँग अन्य भेट्रान पनि जोडिन पुगेका थिए । तर घटनाको तथ्यलाई लिएर केही प्रश्नचिन्ह अवश्य छन् । अक्षयलाई सशस्त्र बलप्रति उच्च सम्मान छ र शंकको छायामा हुन सक्ने कथासँग उनी जोड्न चाहँदैनन् ।’ यो फिल्म भारतीय सेनाका मेजर जनरल इयान कार्डोजोको बायोपिक थियो । यो फिल्म सन् १९७१ को युद्धमा आधारित थियो । मेजर जनरल कार्डोजोले ७१ को युद्धका क्रममा बारुदी सुरुङमा पाइला टेकेर खुकरीले आफ्नै खुट्टा काटेको बताइएको छ । गत वर्ष अगस्टमा रायले फिल्मको बारेमा सोध्दा आफूहरुले यसमा काम गरिरहेको र स्क्रिप्ट लक भएपछि फ्लोरमा जाने बताएका थिए । अक्षयका प्रवक्ताले थप विवरण नदिई आफूले उनले फिल्म नगर्ने पुष्टि गरेका छन् ।