कक्षा १२ को नतिजामा आधा विद्यार्थी फेल पाइयो – Jaleshwortoday

कक्षा १२ को नतिजामा आधा विद्यार्थी फेल पाइयो

 August 15, 2023  
ww

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, ३० श्रावण

मंगलबार कक्षा १२ को नतिजा सार्वजनिक गर्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले गएको वर्षको भन्दा नतिजा सुधार भएको दाबी गरे ।

गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालित परीक्षामा नियमिततर्फ ३ लाख ७२ हजार ६३७, आंशितर्फक ६० हजार ९५९ जना, ग्रेड वद्धितर्फ १४ हजार १३५ जना र २०७२/०७३ को ग्रेडवृद्धितर्फ १ हजार १०६ जना गरी ४ लाख ४८ हजार ८३७ जना सहभागी भएका थिए ।

तीमध्ये नियमिततर्फ १ लाख ८९ हजार ७११, आंशिकतर्फ १८ हजार ३०, ग्रेडवृद्धितर्फ ६ हजार १४० जना र २०७२÷७३ को ग्रेडवृद्धितर्फ ६५० जना ग्रेडेड (माथिल्लो तह अध्ययनका लागि योग्य) भएका छन् । त्यस्तै ५६ जनाको परीक्षा रद्ध भएको छ ।

गत वर्ष जारी लेटर ग्रेडिङ निर्देशिका अनुसार कुनै विषयमा ३५ प्रतिशत अंक नल्याएमा ननग्रेड (एनजी) हुन्छन् । ग्रेडिङ प्रणालीमा पास–फेल नभने पनि एनजी आएकाहरुले माथिल्लो तहको अध्ययन गर्न पाउने छैनन् । उनीहरुले ग्रेडवृद्धि परीक्षामा सहभागी हुनुपर्नेछ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माका अनुसार परीक्षा भएको ८० दिनपछि नतिजा सार्वजनिक हुँदा ५०.९१ प्रतिशत उतीर्ण भएका छन् । ‘विगत वर्ष भन्दा केही इम्प्रुभ भएको मानेका छौं’ उनले मंगलबार आयोजित पत्रकार सम्मेलनमा भने । यो वर्ष एक लाख ८२ हजार ९२६ (४९.०९ प्रतिशत) एनजी ल्याएका छन्, जुन गत वर्ष १ लाख ८८ हजार ४१० जना रहेका थिए ।

त्यसकारण गत वर्षको तुलनामा सुधार भएको बोर्डले दाबी गरे पनि उच्च शिक्षा पढ्न नपाउनेको संख्या ठूलो देखिएको छ । यसले विश्वविद्यालयमा भर्ना हुने विद्यार्थीको घट्दो संख्यामा प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ ।

शिक्षाविद् प्राडा विद्यानाथ कोइराला नतिजामा सुधार भन्न नमिल्ने बताउँछन् । ‘किनभने परीक्षार्थीमध्येको आधा प्रतिशतले त उच्च शिक्षा पढ्नै नपाउने भएका छन । त्यसैले सुधार भन्दा पनि सुधार उन्मुख भएको भन्न सकिन्छ’, उनले भने ।

बालबालिकाको पढ्ने शैली र शिक्षकको पढाउने शैली नमिल्दा नतिजामा सुधार ल्याउन नसकिएको उनको बुझाइ छ

कक्षा १२ को नतिजाले विद्यालय तहको सिकाइ स्तर अत्यन्त चिन्ताजनक देखाएको पूर्वशिक्षामन्त्री शिशिर खनाल बताउँछन् । उनी भन्छन् ‘परीक्षार्थीमध्ये लगभग आधा विद्यार्थी माथिल्लो तह पढ्न नपाउने हुनु भनेको त अत्यन्तै गम्भीर चिन्ताको विषय हो ।’

उत्तीर्ण भएकाहरु पनि कतिपयले थोरै नम्बर ल्याएको हुन सक्ने भन्दै उनले यकिन तथ्यांक सार्वजनिक गरेर सुधारको काम थाल्नुपर्ने बताए । ‘नतिजा हेरेर पास भएका मध्ये ५० प्रतिशत पनि सिकाई नहुनेहरु कत्ति होलान् भनेको पास त भए तर उनीहरुको सिकाईको स्तर त उन्नत पक्कै भएन’, उनले भने ।

परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का अनुसार यो वर्ष सबै भन्दा धेरै १ लाख ९ हजार ५२७ जनाको अंग्रेजी विषयमा ननग्रेड आएको छ । दोस्रोमा लेखा विषयमा ५२ हजार ७३ जना, सामाजिक अध्ययनमा ५१ हजार १०४ जनाको ननग्रेड छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्मा भन्छन्, ‘मुख्य कक्षा कोठाको पठनपाठनसँग विद्यार्थीको नतिजा जोडिएको हुन्छ त्यसैले हाम्रो बुझाइ अनुसार शिक्षण सिकाई प्रभावकारी भएन ।’

बोर्डले २ विषयसम्म ननग्रेड हुनेका लागि असोज ६ र ७ गते ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्दैछ । त्यसमा १ लाख २३ हजार ३ सय ९६ जना सहभागी हुन पाउनेछन् । बोर्डका सदस्य सचिव दुर्गा अर्यालका अनुसा एक विषयमा मात्र एनजी आउनेको संख्या भने ७९ हजार ५८४ जना रहेको छ ।