क्रिकेट खेललाई व्यवस्थित गर्न जरुरी – Jaleshwortoday

क्रिकेट खेललाई व्यवस्थित गर्न जरुरी

 December 6, 2023  
Untitled

  • प्रा.पवन कुमार साह

नेपालमा क्रिकेट खेल प्रति सर्वसाधारणको क्रेज बढेको देखिन्छ । अहिले विभिन्न संघसंस्थाहरुले क्रिकेट खेललाई प्राथमिकताको साथ अगाडी बढाएको देखिन्छ । अहिलेका युवा पुस्ताहरु समेत क्रिकेटलाई आफ्नो हविको रुपमा लिन थालेका छन् । अहिले सबैतिर क्रिकेटको अभ्यास गर्न तथा सिक्ने वातावरण तयार भएको सहजै महसुस गर्न सकिन्छ । राष्ट्रिय क्रिकेट खेलाडीहरुले समेत अन्तर्राष्ट्रिय रुपमा विभिन्न किर्तिमानहरु बनाउन सफल भएको इतिहासलाई कसैले विर्सन सक्दैन । त्यसैगरी मधेस प्रदेश क्रिकेट खेलाडीहरुले पोखरामा आयोजित केपीओली क्रिकेट कपलाई हात पार्न सफल भएका थिए । पुरुष मात्र होइन की अहिले क्रिकेट खेलमा महिलाहरु समेत राम्रो गरिरहेको पाइएको छ । मधेस प्रदेश अन्तर्गत महोत्तरी जिल्लाको गौशाला नगरपालिकाकी पुजा महतो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरु खेलेर अहिले महोत्तरी जिल्लाको महिला कप्तान चयन भएकी छिन् । गौशाला नगरपालिकाको मेयर डा.दीपेन्द्र महतोले समेत यस्तो प्रतिभाशाली १७ वर्षिय महिला क्रिकेटरलाई सम्मान गरेका थिए ।
अब संघीय सरकार,प्रदेश सरकार तथा स्थानिय सरकारले विभिन्न किसिमले क्रिकेट खेलाडीहरुलाई पहिचान तथा पुरस्कृत गर्न थालेपछि सबै सरकारको अवको आवश्यक जिम्मेबारी भनेको आफ्नो गृह नगरमा स्टेडीयम को व्यवस्थापन गर्न गराउन आवश्यक रहेको देखिन्छ । किनभने राम्रो नर्तकीलाई जसरी राम्रो मञ्चको आवश्यकता हुन्छ त्यसैगरी राम्रो खेलाडीलाई राम्रो गर्नको लागि खेल मैदान,स्टेडीयम तथा आवश्यक खेल सामाग्रीहरुको आवश्यकता पर्दछ । नेपाली खेलाडीहरुलाई अन्तर्राष्ट्रिय रुपमा सफल हुनको लागि पुरस्कार वितरण भन्दा पनि सुविधासमपन्न स्टेडियमको लागि पहल तथा बजेट व्यवस्थापनदेखि विनियोजनसम्मको काम अगाडी बढाउनु पर्ने आवश्यकता रहेको देखिन्छ । यसमा सक्षम व्यवसायीहरुले समेत सहयोग गर्न तत्पर हुन जरुरी छ ।