जलेश्वरटुडे समाचारदाता
रौतहट, ३० मंसिर
रौतहटमा बालविवाह गरेको अभियोगमा दुलाहसहित ७ जना मण्डपबाटै पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दुलाह मुकेश गिरी, दुलाहका बुबा रामसागर गिरी, काका राम श्रेष्ठ गिरी, पुजारी कपिलदेव चौवे, गिता गिरी र लक्ष्मी गिरी रहेका छन् । सोमबार साँझ गरुडा नगरपालिका ५ स्थित शिवनगर मन्दिरमा १५ वर्षीया किशोरीसँग २४ वर्षीय युवकको विवाह भइरहेको सूचनापछि प्रहरी विवाहस्थलमा पुगेको थियो। ईशनाथ नगरपालिका ३ औरैया टोलका रामसागर गिरीका छोरा फरक क्षमता भएको (कान सुन्न नसक्ने) २४ वर्षीय मुकेश गिरीको रौतहट माधवनारायण नगरपालिका ६ की १५ वर्षीय किशोरीसँग विवाह भइरहेको थियो । केटा पक्षले धन सम्पतीको प्रलोभन देखाई बाल बिवाह गराइ रहेको सूचना प्राप्त भएपछि प्रहरी त्यहाँ पुगेको थियो। प्रहरीले बिवाह रोकी बाल बिवाह गराउने कार्यमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिहरुलाई रौतहट जिल्ला अदालतबाट बाल विवाह सम्बन्धी कसूरमा ३ दिनको म्याद लिएर अनुसन्धान सुरु गरेको छ ।
