जलेश्वरटुडे समाचारदाता
धनुषा, २ पुस
धनुुषाधाम नगरपालिकाले प्रत्येक वर्ष धनुष मन्दिर प्राङ्गणमा लाग्ने विवाहपञ्चमी मेला,उत्सवका अवसरमा विशेष तयारी गरेको छ । वडा नं.—३ का वडाध्यक्ष राजकिशोर साहको संयोजकत्वमा एक समिति गठन गरियो । समितिमा वडा नं.—१,२ र ४ का वडाध्यक्ष क्रमशः विश्वनाथ यादव,प्रभु नारायण साह र परिक्षण यादव सदस्यहरु रहेका छन् । नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई समेत समितिमा आमन्त्रित सदस्यको रुपमा राख्ने निर्णय गरियो । हालसम्मको तयारी अन्तर्गत समितिले बजार सरसफाई,धनुष पोखरी सरसफाई,ठाउँ—ठाउँमा प्रवेश द्वार निर्माण,भक्तजनहरुको बसोबासको लागि पण्डाल निर्माण,रामलिला प्रदर्शन,माइकिङ्ग,स्वयंसेवक परिचालनका लागि तयारी,मेलामा नै निःशुल्क स्वास्थ्य शिविर संचालन ,दैनिक सडक तथा बजारमा पानी छर्कने लगायतका कार्यहरु गर्ने तथा गराउँने भएको छ । उल्लेखित सबै कार्यमा आर्थिक सहयोग तथा अन्य सहयोग धनुषाधाम नगरपालिका ले व्योहोर्ने जानकारी नगर प्रमुख बालेश्वर मण्डलले जानकारी गराउनु भयो । समितिका संयोजक साहका अनुसार यस पटकको विवाहपञ्चमीको तयारी भव्य रहेको तथा कोरोना सुरक्षाको दृष्टिले थप सजगता अपनाइएकोे बताउनु भयो ।
