नाउपा संसदीय दलका नेता भन्छन् : सुदूरपश्चिम सरकारलाई समर्थन कायमै रहन्छ – Jaleshwortoday

नाउपा संसदीय दलका नेता भन्छन् : सुदूरपश्चिम सरकारलाई समर्थन कायमै रहन्छ

 March 27, 2024  
2

जलेश्वरटुडे समाचारदाता
धनगढी, १४ चैत्र

नागरिक उन्मुक्ति पार्टी (नाउपा) काे संस्थापक केन्द्रीय समितिकाे बैठकले प्रदेशमा पनि हालको सत्ता गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेलगत्तै सुदूरपश्चिम प्रदेश संसदीय दलले उक्त निर्णय अस्वीकार गर्ने बताएको छ ।

प्रदेश स‌ंसदीय दलका नेता घनश्याम चाैधरीले मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएकाे समर्थन कायमै रहेकाे बताउँदै संस्थापक केन्द्रीय कमिटिकाे निर्णय स्वीकार नहुने बताएका हुन् । उनले पार्टीका संरक्षक रेशमलाल चाैधरी जापानबाट फर्किएपछि मात्र पार्टीले सरकारबारे निर्णय लिने बताए ।

‘पार्टीका संरक्षक बिना बसेकाे अल्पमतकाे बैठकले गरेकाे निर्णय कसरी मान्ने ?’, चाैधरीले भने, ‘उहाँ(रेशम) जापानबाट फर्किएपछि सरकारका विषयमा निर्णय हुन्छ । अहिले यहीँ सरकारलाई हाम्रो समर्थन रहन्छ ।’

रेशम चाैधरी अहिले जापानमा रहेका बेला उनकी पत्नीसमेत रहेकी नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठकाे अध्यक्षतामा बुधबार बसेकाे बैठकले संघ र प्रदेशमा एमाले-माओवादी-रास्वपासहितकाे गठबन्धन सरकारलाई समर्थन गर्ने निर्णय गरेकाे छ ।

२१ जना केन्द्रीय सदस्यमध्ये बुधबारकाे बैठकमा १२ जनाकाे उपस्थिति रहेकाे थियो । यसअघि रेशम चाैधरी पक्षीय संस्थापक केन्द्रीय सदस्यहरूले ज्येष्ठ सदस्य दामोदर पण्डितकाे अध्यक्षतामा बसेकाे बैठकले प्रचण्ड नेतृत्वकाे सरकारलाई दिएकाे समर्थन फिर्ता लिने निर्णय गरेकाे थियाे ।

त्यसपछि अध्यक्ष श्रेष्ठले भने प्रचण्डलाई विश्वासकाे मत दिन ह्विप जारी गरेकी थिइन् । उक्त निर्णयपछि रेशमले रञ्जितालाई सम्झाउन नसकिएकाे बताएका थिए ।

सुदूरपश्चिममा सरकार निर्माणमा निर्णायक भूमिकामा रहेकाे नाउपाबाट मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो पक्षमा बहुमत पुर्‍याउन  राज्यमन्त्रीसहित ५ जनालाई मन्त्री बनाएका छन् ।

नाउपाका ७ प्रदेशसभा सदस्य छन् । कैलाश चाैधरी र टीका थापा मात्र सरकार बाहिर छन् ।