जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ७ आषाढ
१०औं अन्तराष्ट्रिय योग दिवसको अवसर पारेर नेपाल भारतमैत्री युवा संघ धनुषाले शुक्रबार एक दिने योग शिविर संचालन गरेको छ ।
जनकपुरधामको थापाचोकस्थित युनाइटेड स्कुलमा आयोजित योग शिविरको नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्वमन्त्री महेन्द्र यादवले उद्घाटन गरेका थिए ।
नेपाल भारतमैत्री युवा संघ धनुषाका अध्यक्ष बजरंग यादवको अध्यक्षतामा भएको योग शिविरमा योगगुरु बैधनाथ साहले सहभागिहरुलाई योग गराएका थिए ।
सो अवसरमा प्रदेशसभा सदस्य शेषनारायण यादव, नेपाल भारतमैत्री युवा संघका उपाध्यक्ष बिष्णुदेव साह, सचिब फुलगेन यादव, घनश्याम यादव, अनिता यादव, अकबर मंसुर, बिमल पण्डित, स्कुलका प्रअ कुसेश्वर यादव लगायतको उपस्थिति रहेको थियो ।
सहभागिहरुलाई योगगुरु साहले योगभ्यास गराउनका साथै यसबाट हुने फाइदा बारे प्रशिक्षण दिएका थिए ।
यस वर्ष ‘योगा फर सेल्फ एण्ड सोसाइटी’ भन्ने मूल नाराका साथ दशौं विश्व योग दिवस जनकपुरधामसहित दुनियाभर मनाइएको हो ।
योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धति छ ।
स्वस्थकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन योगले सहयोग पु¥याएको छ ।
संयुक्त राष्ट्रसंघको महासभाबाट पारित प्रस्ताव अनुसार २१ जुनलाई विश्व योग दिवस मनाउन नेपाल सरकारले पनि २६ जेठ २०७३ मा निर्णय गरेको थियो । सोही अनुसार शिक्षा मन्त्रालयको संयोजनमा प्रत्येक वर्ष २१ जुनमा विश्व योग दिवस मनाउने गरिएको छ ।
