महोत्तरीमा अत्यधिक जाडोका कारण जनजिवन प्रभावित – Jaleshwortoday

महोत्तरीमा अत्यधिक जाडोका कारण जनजिवन प्रभावित

 January 13, 2021  
Mahottarima

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २८ पुस

विगत तीन दिनदेखि बाक्लो हुस्सु र अत्याधिक चिसोका कारण महोत्तरी लगायत तराईको जनजीवन प्रभावित भएको छ ।
दिनभरी नै लाग्ने हुस्सु र कुहिराका कारण घाम लाग्न नसकेपछि बढेको चिसोले तराईको जनजीवन कष्टकर बनेको हो । पश्चिमी वायुका कारण साम्य हुन लागेको जाडो पुनः दोहोरिएको छ । तराईका जिल्लामा अहिले दैनिकरुपमा बढेदै गएको जाडोका कारण जनजीवन निकै प्रभावित भएका छन् । चिसोवाट वृद्धवृद्धा, बालबालिका र दैनिक मजदूरी गरेर जीविका चलाउने वर्ग बढी प्रभावित हुने गरेको आफ्नै घर अगाडि अत्यधिक जाडोले काम्दै गरेका जलेश्वर नगरपालिका–६ का ६० वर्षीय जीवछ मोमिनले बताए ।निरन्तरको चिसो, कठ्याङ्ग्रिँदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोका कारण वातावरण बिग्रेर मानिस, चौपाया पशु, पक्षी तथा बालीनालीसमेत प्रभावित भएको छ । चिसोकै कारण अहिले महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरसहित जिल्लाको शहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ भने जिल्लावासी बाक्लो कुहिरोका कारण यातयातका साधन चढ्न छोडेका छन् । यता जिल्लाका विभिन्न बजारमा बाक्लो ऊनी कपडाको बिक्रीमा बढोत्तरी भएको छ भने चिसोकै कारण जिल्लाको हाट बजारहरुमा मानिसको उपस्थिति न्यून भएको छ । चिसो बढेपछि चिया पसलमा अत्यधिक भीड हुने गरेका छन् ।
बिहान ४ बजेदेखि बेलुका ८ बजेसम्म चिया पिउनेको लाइन लाग्ने गरेको जलेश्वर नगरपालिका–२ मा चिया पसल गर्दै आएका दिलीप साहले बताए। उनले आफू पसल बन्द गर्न खोज्दा पनि ग्राहकले बन्द गर्न नदिने र बिहान ४ बजे नै आएर पसल खोल्न तथा राति अबेरसम्म चिया पसलमै बस्न आग्रह गर्ने गरेको बताए । बाक्लो हुस्सु र चिसोका कारण स्थानियहरु दाउरा तथा बाक्लो कपडाको आशमा रहेको बुझिएको छ ।