मधेस सहित देशभर अत्यधिक चिसो बढ्न थालिसकेकाले रुघाखोकी लाग्ने आशंका बढ्न थालेको छ । जाडो मौसममा विशेषगरी बालबालिका तथा ज्येष्ठ नागरिकलाई बढी स्याहारको आवश्यकता पर्दछ । जाडो मौसममा बालबालिकालाई श्वासप्रश्वाससम्बन्धी, रुघाखोकी, घाँटीको सङ्क्रमण, पेट दुखाइ लगायत समस्या बढी देखिने भएकोले आवश्यक सावधानी अपनाउनु पर्ने देखिन्छ । जाडोमा विशेषगरी श्वासप्रश्वास सम्बन्धी रुघाखोकी, निमोनिया, ‘कोल्ड डाइरिया’ (चिसोले हुने झाडापखाला) का समस्या बढी देखिने हुन्छन् । ‘चिसोबाट बालबालिकालाई जोगाउन पौष्टिक आहारको जरुरत पर्दछ । जुनसुकै समयमा पनि बालबालिकालाई पौष्टिक आहार आवश्यक पर्ने भए पनि जाडोमा अन्य समयमा भन्दा बढी चाहिन्छ । यसले साधारण रोग पचाउन सहयोग गर्छ’ । साथै सरकारले उपलब्ध गराएका सबै खोप लगाउनुपर्ने आवश्यक हुन्छ । ‘खोप लगाएका बच्चालाई अरुलाई भन्दा कम रोग लाग्छ । दादुराको खोप लगाएका बच्चालाई निमोनिया हुने जोखिम कम हुन्छ’ । जाडोमा बालबालिका चिसो मानेर नुहाउन नमान्ने, हात खुट्टा धुन गाह्रो मान्ने भएकाले पनि रोगको सङ्क्रमण बढी देखिने हुन्छ । रुघाखोकी लाग्दैमा औषधि खानु वा खुवाउनु भन्दा पहिले रुघाखोकी लागेमा विशेषज्ञ चिकित्सको परामर्श लिनुपर्ने आवश्यक देखिन्छ । ‘सरसफाइमा ध्यान दिन सके जाडो वा गर्मीमा रोग लाग्ने सम्भावना कम रहन्छ । बच्चाहरू चिसोमा नुहाउन अल्छी मान्छन् । सरसफाइ नहुँदा छालाका रोग पनि देखिन सकिन्छ ।’
जाडो याममा कोठा न्यानो राख्न हिटर तथा कोइला बाल्दा जहिले पनि सफा हावाको आवतजावत हुने वातावरण बनाइराख्न र झ्याल तथा ढोका ड्याम्म लगाउनु पर्छ ।
जाडो मौसम सुरु भएसँगै अभिभावकले आफ्ना बालबालिकालाई पर्याप्त मात्रामा झोलिलो खान, न्यानो लुगा लगाइदिन, दैनिक १५ देखि ३० मिनेट घाम ताप्न लगाउने लगायत काम गर्नुपर्ने आवश्यक हुन्छ । यस कठोर जाडोको समयमा स्थानिय निकाय लगायत अन्य निकायले समेत दाउरा,न्यानो कपडा लगायत आवश्यक व्यवस्थापनमा जुट्न आवश्यक रहेको देखिन्छ ।
