हंसपुर नगरपालिका–८ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न – Jaleshwortoday

हंसपुर नगरपालिका–८ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

 December 30, 2024  
1

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १५ पौंष

धनुषाको हंसपुर नगरपालिका–८ मा सोमबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

मा.वि.झटियाहीमा भएको सो स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सकरुले बिरामीको स्वास्थ्य जाँच गरेर निःशुल्क औषधिसमेत वितरण गरेका छन् ।

सत्य कबिर आश्रमले आयोजना गरेको एक दिने सो निःशुल्क स्वास्थ्य शिविरमा पाँच सय बढी सर्वसाधारणले स्वास्थ्य जाँच गराएको हंसपुर नगरपालिकाका निवर्तमान मेयर रामज्ञान मण्डलले बताए ।

मण्डलका अनुसार स्वास्थ्य बीमा नरहेका अति विपन्न, गरिब, दलित समुदायका नागरिकहरु स्वास्थ्य शिविरबाट लाभान्वित भएका हुन् । शिविरमा जाँच गराउनेमा अधिकांश आँखाका रोगी रहेको निवर्तमान मेयर मण्डलले बताए ।

शिविरमा स्वास्थ्य जाँच गराउन आएका नागरिकको अल्ट्रा साउण्ड र ल्याब जाँच पनि निःशुल्क गरिएको थियो ।

जानकी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल तथा हंसपुर नगरपालिका–८ को सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा डा.महेश्वर यादव, डा.बलराम मण्डल, डा.निरज यादव, निरंजन गोईत, डा. धिरज झा लगायतले शिविरमा आएका सर्वसाधारणको स्वास्थ्य जाँच गरेका थिए ।

स्वास्थ्य बीमा कार्यक्रम, मेडिसिन पेट, छाती, मुटु, मृगौला, बालरोग विभाग, स्ती तथा प्रसुति विभाग, आँखा विभाग, रक्त परीक्षण, हाड जोनी तथा नशा विभाग लगायतको विशेषज्ञहरुले सर्वसाधारणको स्वास्थ्य जाँच गरेका थिए ।

यसअघि रामअशिष मोचीको अध्यक्षतामा भएको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि आश्रमका महन्थ राजकुमार दास, विशिष्ट अतिथि नि.वर्तमान मेयर रामज्ञान मण्डल ,वडाध्यक्ष देवनारायण मण्डल लगायतको उपस्थिति रहेको थियो ।