लक्ष्मीनियाँमा एचपीभी खोप अभियान सुरु – Jaleshwortoday

लक्ष्मीनियाँमा एचपीभी खोप अभियान सुरु

 February 8, 2025  
1

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, २६ माघ

धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा पाठेघरको मुखको क्यान्सर विरुद्धको निःशुल्क एचपीभी खोप अभियान सुरु भएको छ ।

लक्ष्मीनियाँ जनता माविमा बुधबार आयोजित पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप अभियान २०८१।०८२ शुभारम्भ कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधन प्रसाद सिंहले लक्ष्मीनियाँ गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेर अभियान शुभारम्भ गरेका हुन् ।

खोप अभियानको सुभारम्भ गर्दै मन्त्री सिंहले यो अभियानमा सबैको सहयोग अपरिहार्य रहेको बताए । पाठेघरको मुखको क्यान्सरले महिलालाई अकालमा ज्यान गुमाउनुपरेको स्मरण गर्दै मन्त्री सिंहले अभियानपछि यसमा कमी आउने विश्वास व्यक्त गरे । नेपालमा पाठेघरको मुखको क्यान्सरले दैनिक चार जना महिलाको मृत्यु हुने गरेको तथ्यांकहरुले देखाएको छ ।

स्वास्थ्य क्षेत्रमा सुधारका लागि मधेश प्रदेश सरकारले विभिन्न योजनाहरु संचालन गरेपनि राजनीतिक अस्थिरताले अपेक्षित प्रगति हुन नसकेको मन्त्री सिंहले स्वीकार गरे ।

राजनीतिक अस्थिरताले योजनाहरु समयमा अगाडि बढ्न सकेको छैन्, उनले भने–स्वास्थ्य क्षेत्रमा सुधार गर्न विभिन्न योजनाहरु रहेको छ ।

तर, समयमा संचालन नहुँदा योजनाको कार्य प्रगति अपेक्षा अनुसार हुन नसकेको मन्त्री सिंहले थपे ।

लक्ष्मीनियाँ गाउँपालिकाका अध्यक्ष मिश्रको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रममा नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका प्रमुख सचेतक कुमरकान्त झाले अभैmपनि स्वास्थ्य निःशुल्क हुन नसकेको जिकिर गरे । शिक्षा र स्वास्थ्यलाई निःशुल्क भनिएपनि आमजनताले त्यसको अनुभूति गर्न नसकेको भन्दै उनले यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

मधेश प्रदेशमा निर्माण गरिएको बर्थिङ सेन्टर जनशक्ति अभावमा प्रयोगविहीन बनेको झाले बताए ।

जनशक्ति व्यवस्थापन गरेर बर्थिङ सेन्टरहरुलाई प्रयोगमा ल्याउन उनले मन्त्री सिंहको ध्यानाकर्षण गराएका थिए ।

सो अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव राजेश मिश्रले स्वास्थ्य क्षेत्रमा सुधारको लागि प्रदेश सरकारले हरसम्भव प्रयास गरिरहेको जानकारी दिए ।

स्वास्थ्य निर्देशनालयका निर्देशक श्रवण नायकले मधेश प्रदेशको १ सय ३६ वटै पालिकामा आउँदो फागुन ६ गतेसम्म एचपीभी खोप अभियान संचालन हुने जानकारी दिए ।

कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचपीभी खोप दिन लागेको निर्देशक नायकले बताए । खोप सुरक्षित र प्रभावकारी भएकाले ढुक्क भएर लगाउन नायकले अनुरोध समेत गरे ।

कार्यक्रममा पूर्व सहसचिव गरिबदास ठाकुर, लक्ष्मीनियाँ गाउँपालिकाका वडा नं. ७ का वडाध्यक्ष गंगा साह, प्रमुख प्रशासकीय अधिकृत राजगिर महतो, स्वास्थ्य निर्देशनालयका लक्ष्मेश्वर झा, लक्ष्मीनियाँ माविका प्रअ दिपक झा, मावि सिनुरजोडाका प्रअ शिवकुमार यादव लगायतको उपस्थिति रहेको थियो ।