मिथिलानीहरू तराई मधेससहित सम्पूर्ण मिथिलाञ्चलमा सोमबार अटल सौभाग्यको कामना गर्दै वट सावित्री पर्व मनाएका छन् ।
पतिको दीर्घायुको कामना गर्दै नवविवाहिता तथा विवाहित नारीले प्रत्येक वर्ष मनाइने वट सावित्री पर्वका लागि भारत सहित सम्पूर्ण मिथिलाञ्चलका नारीहरू (मिथिलानीहरू) विभिन्न रंगीचंगी पहिरनमा देखिएका थिए । जहाँ महिला बाँसको पङ्खा र डालो किनिरहेको देख्न सकिन्छ । यस पर्वको कारण विभिन्न शृङ्गार पसल, कपडा पसल, फलफुल पसल र चुरापोतेको पसलहरुमा समेत भिडभाड देखिएको थियो ।
पतिको दीर्घायुको कामना र दाम्पत्य जीवनको सुख समृद्धिका लागि तराई, मधेसका महिलाले सोमबार वट सावित्री पर्व मनाउने गरिन्छ । मिथिलाञ्चलमा बट सावित्री पर्वलाई स्थानीय भाषामा ‘बरसाइत पावइन’ भन्ने गरिन्छ । जेठ कृष्णपक्ष अमावस्याका दिन मनाइने बर साइत पावइन (वट सावित्री पर्व) नवविवाहिता र सामान्य विवाहित महिलाले फरक—फरक विधिअनुसार मनाउने चलन छ । नवविवाहिता महिलाले पहिलो वरसाइत (बिहेपछि आउने पहिलो पर्व) अनिवार्य रूपमा ससुराली (श्रीमानको घर) मै मनाउनुपर्छ । नवविवाहिताले पर्वको लागि नहायखाय (स्नान गरी सात्विक भोजन) गरेपछि सोह्रश्रृङ्गार अर्थात लाउने लुगादेखि चुरासम्मका सबै शृङ्गार र पहिरनका सामग्री माइतबाटै पठाइन्छ । पर्वका दिन बिहानै नुवाइधुवाइ गरी रातो, पहेँलो पहिरनमा नजिकको वर (वट)को रूखमुनि बसेर नवविवाहितले आफ्ना पतिका साथ पूजा गर्दछन् ।
उपलब्ध भए वर र पीपल दुवैसँगै भएको ठाउँमा वा नभए वरको रूखमुनि पीपलको हाँगा गाडेर भए पनि वर र पीपल दुवैको उपस्थितिमा पति र पत्नी मिलेर पूजा गरिन्छ । यस दिनलाई अझै महत्व दिनको लागि मिथिलानीहरुलाई विशेष सम्मान स्वरुप यस दिनमा अगामी वर्षदेखि मधेस प्रदेशमा सार्वजनिक बिदाको घोषणा हुन जरुरी देखिन्छ ।
