केही दिनको वर्षापछि एक्कासी बढेको अत्यधिक गर्मीबाट सबै जनाले बच्न र अरुलाई पनि बचाउन आवश्यक रहेको देखिन्छ ।
तराई मधेसको एउटा दुखेको रुपमा रहेको मौसमी प्रभावका कारण यस क्षेत्रमा गर्मी याममा बढी गर्मी तथा चिसो याममा बढी चिसो झेल्नु पर्ने प्राकृतिक परम्परालाई नकार्न सकिने अवस्था छैन । विकल्पको रुपमा अहिले अत्यधिक गर्मीबाट बच्नको लागि घरबाट बाहिर निस्क्दा छाताको प्रयोग वा सबारी साधनको प्रयोग गर्नु आवश्यक देखिन्छ भने चिसो पानी घरभित्र तथा घरबाहिर पनि अत्यधिक सेवन गर्नु नितान्त जरुरी देखिन्छ । त्यसैगरी गर्मी याममा बालबालिका तथा बुढाबुढीहरुलाई विशेष रुपमा ध्यान दिई तिनीहरुलाई अत्यधिक पानी पिउन तथा घामबाट बचाउनु पर्दछ । यतिमात्र होइन की हामीले गर्मीबाट बच्न तथा यसको नकारात्मक प्रभावबाट बच्नको लागि खानपिनमा समेत ध्यान दिनु पर्दछ । यतिबेला हामीले रसिलो फलफुल,साग,टमाटर,गोलभेडा,काक्रो,गाँजर लगायतका हरियो तरकारीहरुको प्रयोग गर्दा अत्यधिक गर्मीबाट बच्न सक्दछौं ।
गर्मीबाट आफू मात्र बाँचेर हुदैन । हामी सामाजिक प्राणी भएको नाताले सामाजिक स्वास्थ्य तथा सामाजिक जिम्मेबारी प्रति पनि त्यतिकै जिम्मेबार बन्नु पर्दछ । बाटोघाटो वा सार्वजनिक ठाउँमा वा हाम्रो घरमै गर्मीबाट बेहोस भए तुरुन्त मुखमा चिसो पानी छर्की जिउँमा लगाएको लुगालाई खुकुलो पारी हावादार ठाउँमा राख्नुपर्दछ । त्यति गरेर पनि मुर्छित व्यक्ति निको भएन भने नजिकको स्वास्थ्य कार्यालयमा लगी थप उपचार गर्नु पर्दछ । यसको लागि व्यक्तिगत सचेतनाको साथै स्थानिय सरकारले समेत ध्यान दिन आवश्यक छ ।
