विद्यालय खोलाउन प्रयास गर – Jaleshwortoday

विद्यालय खोलाउन प्रयास गर

 July 19, 2021  
Education

धनुषा जिल्लाको सिडीओ तथा स्थानिय सरकार निजी विद्यालय संचालन सम्बन्धमा अहिलेसम्म केहि निर्णय नल्याउन सकेको परिवेशमा निजी विद्यालय संचालकहरुको सहकार्य तथा ऐक्यबद्धता जरुरी छ । यसको लागि सिडिओ र स्थानिय सरकारसँग अनुमति लिन जरुरी भइसकेको छ । यसै गरी नेपालको प्रमुख नीजि विद्यालयको संगठन प्याब्सन तथा एनप्याब्सन समेत चुप्पी साधेका छन् । छिमेकी जिल्ला महोत्तरीमा निजी विद्यालयहरु स्वस्फुर्त रुपमा संचालन भइरहे पनि धनुषा लगायत अन्य जिल्लामा विद्यालयहरु बन्द रहनु दुर्भाग्य हो । अहिले स्कुले विद्यार्थीहरु विद्यालय जान नपाएर छाडा भएका छन् । अहिले साना विद्यार्थीदेखि ठूला विद्यार्थीहरु समेत अभिभावकको नियन्त्रण भन्दा बाहिर भएका छन् । अभिभावकहरु विद्यालय संचालकहरुलाई विद्यालय संचालन गर्न दबाब दिन थालेका छन् । झन् पढने विद्यार्थीहरु फोन गरेर विद्यालय कहिले खुल्छ सर ? भनेर सोध्न थालेका छन् । विद्यार्थीहरुका भविष्य चौपट भयो भनेर अभिभावकहरु चिन्तित बन्दै गएका छन्् । भर्चुअल कक्षाहरु त्यति प्रभावकारी नभएको कारण शिक्षणको मुख्य तरिका भौतिक शिक्षण पद्धति नै रहेकोले यसको शुरुवात स्थानिय निकायले गर्न आवश्यक देखिन्छ । स्थानिय निकायलाई केन्द्र सरकारले यस सम्बन्धमा निर्णय लिन अधिकार समेत दिएको हुँदा जिल्लाको सिडिओको रोहबरमा समन्वय गरेर खोल्न सकिने अवस्था देखिन्छ । नीजि विद्यालयमा कार्यरत रहेका शिक्षक तथा शिक्षिका आँशिक रुपमा बेरोजगार भएको हुदा दैनिक जिवन यापन गर्न अप्ठयारो भएको छ । घरमा बसेका शिक्षकहरुले अर्काे कुनै काम गर्न नपाएर आर्थिक रुपमा कमजोर भएको देखिन्छ । किनभने अहिले सबै वर्गले जेनतेन काम गरेर गुजारा चलाएको अवस्थामा शिक्षकहरुले केहि गर्न पाएका छैनन् ।
तसर्थ यस समग्र समस्याहरुको निदानको लागि निजी विद्यालयका छाता संगठनहरु प्याब्सन,एनप्याब्सन,नेपाल प्याब्सन तथा मधेस प्याब्सनले एकत्रित भई स्थानिय सरकार तथा सिडिओ निर दबाब सृजना गर्न सक्नुपर्ने आवश्यकता रहेको देखिन्छ । अहिले यातायात मापदण्ड अपनाएर चलाउन सक्ने अवस्था भएपछि विद्यालयहरु समेत मापदण्डको साथ चलाउन सकिन्छ ।