महोत्तरीको जलेश्वर—भिठामोड नाका खोलाउन प्रदर्शन – Jaleshwortoday

महोत्तरीको जलेश्वर—भिठामोड नाका खोलाउन प्रदर्शन

 August 29, 2021  
Nepal

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १२ भाद्र
जलेश्वर—भिठामोड नाकामा आवतजावत सहज गर्नुपर्ने माग गर्दै महोत्तरीको भिठ्ठामोडमा मलिवाडाका स्थानीयवासीहरुले शुक्रबार विरोध प्रदर्शन गरेका छन् । शुक्रवार दिउँसो दुई बजेदेखि ४ बजे सम्म जलेश्वर नगरपालिका–३का वडाध्यक्ष संजय पाण्डेको नेतृत्वमा स्थानीयवासीहरुले धर्ना प्रदर्शन गरेका हुन् । कोभिड—१९ कोरोनाको कारण लामो समयदेखि नेपाल भारत सीमामा सर्वसाधारणहरुलाई आवत जावतमा रोक लगाईए पनि मालबाहक ट्रक तथा ठुला सवारी साधनहरु सहजै आवतजावत गर्दै आएको छ । सर्वसाधारणको लागि पनि सडक खोल्नु पर्ने मांग उनीहरुले गरेका हुन् । सर्वसाधारणहरुका लागि आवतजावतमा रोक लगाईए पनि दशगजाको खेत आलीको बाटो प्रयोग गर्नू पर्ने बाध्यता रहेकोले मुख्य सडकबाटै आवत जावत हुनु पर्ने मांग गर्दै प्रदर्शन गरिएको हो । वर्षाको बेला खेतआलीको बाटो हिलाम्य बनेको छ । सो मार्ग हुँदै दिनहुँ सयौ नागरिकको आवतजावत हुने गरेको छ । नेपाल–भारतबीच बेटी रोटीको सम्बन्ध रहेकोले सीमामा आवागमन तत्काल सहज नगरिए कडा आन्दोलनमा जाने चेतावनी समेत उनीहरुले दिए । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका मात्र नभई जनकपुधाम लगायतका यस क्षेत्रका नागरिक किनमेल गर्नको लागि भारतीय बजार भिठ्ठामोड जाने गरेका छन् ।