जनकपुरधामका निजी विद्यालयहरुले ३ महिनाको सम्पूर्ण शुल्क मिनाहा गर्ने – Jaleshwortoday

जनकपुरधामका निजी विद्यालयहरुले ३ महिनाको सम्पूर्ण शुल्क मिनाहा गर्ने

 October 2, 2021  
Dhanusha School

जलेश्वरटुडे समाचारदाता
धनुषा, १६ असोज
जनकपुरधामस्थित निजी विद्यालयहरुले तीन महिनाको विद्यालय शुल्क मिनाहा गर्ने भएका छन् ।
कोरोना संक्रमण त्रासका कारण भएको बन्दाबन्दीको समस्यालाई मध्यनजर गर्दै नीजी विद्यालयले विद्यार्थीहरुको वर्षभरी लाग्ने शुल्क मध्ये तीन महिनाको सम्पूर्ण शुल्क मिनाहा गर्ने भएको हो । शुक्रबार जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साहको उपस्थितिमा निजी संस्थागत विद्यालयको छाता संगठनहरु प्याब्सन, एनप्याब्स तथा मधेश प्याब्सनका पदाधिकारीहरु सहभागी भएको बैठकले तीन महिनाको मासिक शुल्क, यातायात, छात्रावास लगायतको सबै शुल्क पुर्णतः मिनाहा गर्ने निर्णय गरेको उपमहानगरद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । असोज १० गते बसेको बैठकले गरेको निर्णय अनुसार विज्ञप्ति जारी गरिएको थियो । उक्त विज्ञप्ति अनुसार– ‘कोभिड –१९ दोश्रो चरणको लहरमा भएको बन्दाबन्दीले अभिभावकहरु मारमा परेको मध्यनजर गर्दै विद्यार्थीहरुको गत जेठ, असार र श्रावण महिनाको सम्पूर्ण शुल्क मिनाहा गरिने भएको छ ।