जनकपुरधाममा २२ जोडीको गराइयो सामूहिक विवाह – Jaleshwortoday

जनकपुरधाममा २२ जोडीको गराइयो सामूहिक विवाह

 December 10, 2021  
Vivah

रासस
धनुषा, २४ मंसिर

धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरमा बिहीबार साँझ २२ जोडीले सामूहिक विवाह गरेका छन्। विश्व हिन्दु परिषद् नेपालको आयोजनामा जानकी मन्दिर परिसरमा आयोजित सामूहिक विवाह कार्यक्रममा धनुषासहित सिरहा, सप्तरी, महोत्तरी लगायत जिल्लाका २२ जोडीले विवाह गरेका हुन्। सीता राम विवाह पञ्चमी महोत्सव सकिए लगत्तै मन्दिर परिसरमा आयोजित सामूहिक विवाह समारोहमा विभिन्न जातजातीका जोडीको विवाह गराइएको विश्व हिन्दु परिषद् नेपाल धनुषाका अध्यक्ष सन्तोषकुमार साहले जानकारी दिए । विश्व जगतमा जनकपुरस्थित जानकी मन्दिर प्रसिद्ध विवाहस्थलका रुपमा रहेको प्रचार प्रचार गर्न र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सामूहिक विवाह समारोह आयोजना गरिएको अध्यक्ष साहको भनाई छ । विवाह समारोहमा प्रदेश नं २ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतो, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवलगायतले नवविवाहित जोडीलाई सुखद दाम्पत्य जीवनको शुभकामना दिएका थिए । विश्व हिन्दु परिषद् नेपालले विगत चार वर्षदेखि जनकपुरधाममा विवाह पञ्चमीको भोलीपल्ट सामूहिक विवाह कार्यक्रम गर्दै आएको छ। अघिल्लो वर्ष कोरोना सङ्क्रमणका कारण सामूहिक विवाह समारोह गर्न सकिएको थिएन ।