पर्सा जिल्लाको विरगंज महानगरपालिकाबाट शुरु भएको हैजा रोग अहिले सम्म नियन्त्रण भएको छैन । जसको फलस्वरुप अहिले ५ सय जना भन्दा व्यक्तिहरु यस महा रोगको शिकार हुन पुगेका छन् । प्राप्त सूचना अनुसार अहिले विरगंज क्षेत्र भित्रका विद्यालयहरु बन्द गरिएका छन् भने त्यहाँ अखाद्य सामाग्रीहरुमा रोक लगाइएको छ । यो महामारी धेरै वर्ष पछि देखा परेको छ । यो रोग पर्सा पछि अहिले बारा जिल्लामा समेत देखिन थालेको छ । विज्ञका अनुसार झाडापखाला जस्तो देखिने हैजा केही गम्भीर प्रकृतिको हुन्छ । उक्त जीवाणुको संक्रमण भएको केही घण्टादेखि पाँच दिनभित्र यसका लक्षणहरू देखिन्छन् । हैजाको पहिलो स्रोत फोहोर वा तलाउ हुन् । हैजाको जिवाणु संक्रमण भएका अधिकांश मानिसमा साधारण लक्षणमात्र देखिन्छ र केही दिनभित्रै निको हुन्छ । जटिल समस्या देखियो भने तुरुन्तै उपचार दिन नसके मृत्यु हुन्छ । विज्ञ अनुसार केही मानिसमा हैजाको लक्षण नदेखिए पनि संक्रमण भएको हुनसक्छ र उनीहरूको दिसामार्फत लगातार केही दिनसम्म हैजाको जीवाणु बाहिर निस्कन्छ । ती व्यक्तिले सरसफाइमा ध्यान नदिए अन्य व्यक्तिमा सजिलै सर्छ । हैजा लागेमा तारन्तार सेतो पानी र चामलका दाना आकारका म्युकस दिसाको माध्यमबाट जान्छ । अत्यधिक मात्रामा पातलो सेतो चौलानी जस्तो दिसा हुने, शरीरका मांसपेसी बाउँडिने, बान्ता हुने, थकाइ महसुस हुने आदि लक्षण देखिन्छन् ।यस्तै आँखा गाडिनु, मुख, जिब्रो, घाँटी र छाला सुख्खा भए कडा जलविजोजनको लक्षण हुन्छ । यस्तै पिसाब पहेँलो हुनु, पिसाब कम मात्रामा हुनु र मुटुको धड्कन अनियन्त्रित हुनु पनि कडा जलवियोजनको संकेत हो । हैजाबाट बच्न शौचालयमा मात्रै दिसापिसाब गर्ने, शहरको बाहिरी फोहोर व्यवस्थापन उचित ठाउँमा गर्ने, दिसा र पिसाबपछि राम्रोसँग मिचिमिची साबुन पानीले हात धुने, खाना बनाउनुअघि साबुन पानीले हात धुने, पानी सधैं उमालेर खाने, काँचै खाने तरकारी तथा सलाद सफा पानीले धोइपखाली खानुपर्ने जरुरी छ।
