आरजे इर्शाद शेख
महोत्तरी, १४ भाद्र
एकडारा गाँउपालिका स्थित बहेड़ा बजारमा वृहत सरसफाई र फोहोरमैला व्यवस्थापन कार्यक्रम सम्पन्न भएको छ।
यस कार्यक्रमको आयोजना बहेड़ा युवा मञ्च कार्य समितिले गरेको
थियो भने सहयोग एकडारा गाँउपालिकाले पुर्याएको थियो।
कार्यक्रममा उपस्थित स्थानीय समुदायले सरसफाईमा सक्रिय सहभागिता जनाउँदै, बस्तीको सफा र स्वच्छ वातावरण निर्माणका लागि एकजुट हुने प्रतिज्ञा गरे। यस अवसरमा बहेड़ा बजारको प्रमुख स्थानमा सरसफाई कार्य सम्पन्न गरियो, र स्थानीय जनतालाई फोहोरमैला व्यवस्थापन र सरसफाईको महत्त्वबारे सचेतना दिन शिक्षा प्रदान गरियो।
कार्यक्रमको मुख्य उद्देश्य भनेको भविष्यमा बस्तीको सरसफाईको अवस्था सुधार्न र फोहोर व्यवस्थापनका लागि एक जिम्मेवार समिति गठन गर्नु रहेको आयोजकले बताएका छन्। यस पहलको माध्यमबाट गाँउपालिकामा सफा र स्वस्थ वातावरणको निर्माणमा थप मद्दत पुग्ने विश्वास गरिएको छ।
कार्यक्रमले स्थानीय समुदायमा स्वच्छता र वातावरण संरक्षणको महत्त्व बुझाउने प्रयास गरेको छ, र आगामी दिनमा निरन्तर यस किसिमका कार्यक्रमहरूको आयोजना गरिने जानकारी आयोजकले दिएका छन्।
कार्यक्रममा प्रमुख अतिथि पालिका अध्यक्ष दीप नारायण मण्डल, वडा अध्यक्ष सिराजुद्दीन अंसारी, वडा नम्बर ५ का वडा अध्यक्ष श्याम चौधरी लगायतका विभिन्न राजनीतिक दलका स्थानीय नेता, शिक्षक, ज्येष्ठ नागरिक र युवाहरूको उपस्थिति थियो।
