आरजे इर्शाद शेख
महोत्तरी, १९ भाद्र
महोत्तरीको एक विद्यालयमा दिवा खाजामा छेपारो परेपछि एक विद्यालयका ६० भन्दा बढी बालबालिका अस्पताल भर्ना भएका छन् । पिपरा गाउँपालिका ६ रतौली स्थित आदर्श माध्यमिक विद्यालयको दिवाखाजामा छेपारो परेपछि ६० जना बालबालिका जनकपुर प्रादेशिक अस्पतालमा भर्ना भएका हुन् ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओमप्रकाश महतोका अनुसार आज दिउँसो खाजामा एक बालकको प्लेटमा दिएको खाजामा छेपारो परेको थियो । ती बालकले छेपारो देखेपछि कसैलाई नभनी खाजा फालेर घर फर्केर अभिभावकलाई सुनाएका थिए ।
त्यसपछि अभिभावकले खाजामा छेपारो परेको भनेपछि केही बालबालिकाले वाकवाकी लागेको बताएका थिए । अभिभावक र विद्यालयले तत्कलै खाजा खाएका ६० भन्दा बढी बालबालिकालाई निगरानीका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याएका छन् ।
व्यवस्थापन समिति अध्यक्ष महतोका अनुसार कसैलाई त्यस्तो समस्या छैन । तर पनि कुनै घटना नहोस् भनेर बालबालिकालाई अस्पाल ल्याइएको बताए ।
