जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, २६ भाद्र
मधेस प्याब्सनले थप २ दिन भाद्र २६ र २७ गते जनकपुरधाम उपमहानगरभित्रका सम्पूर्ण विद्यालयहरु बन्द गर्ने भएको छ ।
विद्यार्थीहरुको सुरक्षालाई ध्यान दिदै मधेस प्याब्सनको केन्द्रीय अध्यक्ष अमरेन्द्र कुमार झाले मधेस प्याब्सनका सम्पूर्ण सदस्य विद्यालयहरुलाई बिहिबार र शुक्रबार विद्यालय बन्द गरि दिन आग्रह गर्नु भएको छ । साथै केन्द्रीय अध्यक्ष झाले अद्र्धवार्षिक परीक्षा पनि नजिकै भएको हुनाले यस प्रतिकुल परिस्थितिमा विद्यार्थीहरुलाई घरमै राखि पठनपाठनमा सघाउन हुन सम्पूर्ण अभिभावकवर्गमा अनुरोध गर्नु भएको छ ।
अध्यक्ष झाले अहिले जनकपुरधाम लगायत विभिन्न ठाउँहरुमा जेनजीको नाउँमा विभिन्न अराजक तत्वहरुले सरकारी तथा नीजि सम्पतिहरुको लुटपाट गरिरहेको खबर प्राप्त भएकोले सम्पूर्ण संस्थापक,अभिभावक,शिक्षक,कर्मचारी तथा विद्यार्थीहरुलाई सचेत तथा सुरक्षित रहन अनुरोध गर्नु भएको छ भने यस कार्यलाई निरुत्साहित गर्न गराउनका लागि जनकपुरधाम जेनजी पुस्तासँग हार्दिक अपिल समेत गर्नु भएको छ । केन्द्रीय अध्यक्ष झाले देशको अवस्था सहज रह्यो भने आइतबारदेखि विद्यालयहरु संचालन हुन सक्ने विचार पोख्नुभयो ।
