हिन्दुहरुको विभिन्न पर्वहरु मध्ये दशैं एक महान पर्व हो । यो पर्व करिब १० दिन मनाइन्छ । अहिले सम्पूर्ण मिथिलाञ्चल दुर्गामय भएको छ । यतिबेला नेपाल तथा छिमेकी राष्ट्र भारतमा हिन्दुहरुका बसोबास धेरै भएको कारण विभिन्न ठाउँहरुमा देवी दुर्गाको विभिन्न नौं वटै स्वरुपको पुजाआजा विभिन्न विधि तथा अनुष्ठानका साथ गरिन्छ । यति मात्र होइन अहिले जनकपुरधाम,जलेश्वर,मटिहानी गरी विभिन्न ठाउँहरुमा रंगीचंगी झिलिमिली बतीले माताको मन्दिर तथा बाटोघाटोहरु सजाइएको छ भने विभिन्न ठाउँहरुमा भजन सन्ध्या कार्यक्रम समेतको आयोजना गरि श्रद्धालु भक्तजनहरु आनन्द लिने गर्दछन् । यतिबेला हिन्दु धर्माबलम्बिहरु घर—घरमा दुर्गा पाठ गर्ने तथा तन्त्र विद्यामा विश्वास राख्नेहरु दुर्गा माताको पुजाआजा तथा आराधना गरी आफ्ना विभिन्न मन्त्रहरु शिद्ध गर्ने गर्दछन् । सप्तमीको दिन माता दुर्गालाई लड्डु तथा नरिवल चढाउने परम्परा रहेको छ । अष्टमी तिथिमा विभिन्न शक्तिपिठहरुमा भाकल अनुसार तथा खुशियालीमा समेत खशीको बलि प्रदान गर्ने चलन रहेको छ । हुन त बलिप्रथा बन्द हुनु पर्दछ भन्ने कुरा विभिन्न संघसंस्थाहरुले उठाए पनि अहिलेसम्म यो पूर्ण रुपमा बन्द भएको छैन । दशमीको दिन विभिन्न शहरहरुमा रावण दहन गर्ने चलन समेत रहि आएको छ । रावण दहन पूर्ण रुपमा आतिशबाजीको अनुपम दुष्य भएको कारण यसलाई हेर्नेहरुको बाक्लो भिड देखिएको हुन्छ । विशेष रुपमा घट्स्थापनादेखि नै माँ दुर्गाको पुजा शुरु हुन्छ भने दशौं दिन मान्यजनहरुबाट टीका तथा जमरा आशिर्वादको रुपमा ग्रहण गरी दशैं महान पर्व समाप्त हुन्छ ।
