महोत्तरीको जलेश्वरमा बाढी प्रभावित ९० परिवारलाई राहत वितरण – Jaleshwortoday

महोत्तरीको जलेश्वरमा बाढी प्रभावित ९० परिवारलाई राहत वितरण

 October 8, 2025  
10

आरजे इर्शाद शेख
महोत्तरी, २२ असोज
भीषण वर्षासँगै आएको बाढीबाट प्रभावित महोत्तरीको जलेश्वर नगरपालिका क्षेत्रका ९० परिवारलाई राहत सामग्री वितरण गरिएको छ। राहत वितरण सेभ द चिल्ड्रेनको सहकार्यमा रतौली युवा क्लबले बुधबार सम्पन्न गरेको हो।
गत शनिबार र आइतबार लगातार परेको भारी वर्षापछि रातु नदीमा आएको बाढीले जलेश्वर नगरपालिका लगायतका विभिन्न क्षेत्र डुबानमा परेका थिए। बाढीबाट विशेषगरी वडा नम्बर १ र ८ बढी प्रभावित भएका छन्।
रतौली युवा क्लबका अध्यक्ष बैद्नाथ चौधरीका अनुसार बाढीपीडित परिवारलाई प्रतिपरिवार करिब १० हजार रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिएको छ। “शेल्टर किट, हाइजिन किट, पानी फिल्टर, एलुमिनियम भूँई म्याट, पातलो कम्बल र भान्सा किटजस्ता आवश्यक गैर-खाद्य सामग्री प्रदान गरिएको छ,” उनले जानकारी दिए।
उनका अनुसार बुधबार मात्रै ९० परिवारलाई राहत वितरण गरिएको हो भने बाँकी प्रभावित परिवारहरूलाई समेत चाँडै राहत उपलब्ध गराउने तयारी भइरहेको छ।
यसैबीच, जलेश्वर नगरपालिकाभित्र क्रियाशील विभिन्न संघसंस्थाहरूले समेत राहत वितरण कार्यमा अग्रसरता देखाइरहेका छन्। स्थानीय तह र सामाजिक संस्थाहरूको समन्वयमा थप सहयोग र पुनःस्थापना कार्य अगाडि बढाउने तयारी भइरहेको जनाइएको छ।