
आरजे इर्शाद शेख
महोत्तरी, ३१ असोज
रतौली युवा क्लबले आफ्नो ३४ औं वार्षिक उत्सव शुक्रबार जलेश्वर नगरपालिकास्थित आर. एस. थाकालिको सभा हलमा भव्य रूपमा सम्पन्न गरेको छ। सामाजिक रूपान्तरण, शिक्षा, स्वास्थ्य र पिछडिएको वर्गको हितमा तीन दशकभन्दा बढी समयदेखि क्रियाशील यस क्लबको कार्यक्रममा समाजसेवी, जनप्रतिनिधि, स्थानीय निकाय प्रमुखहरू तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम क्लबका अध्यक्ष मो. साकिर खानको अध्यक्षतामा सम्पन्न भयो। प्रमुख अतिथिका रूपमा जिल्ला समन्वय समिति, महोत्तरीका अध्यक्ष सुमन लाल कर्णको उपस्थिति रहेको कार्यक्रममा विशिष्ट अतिथिका रूपमा जिल्ला समन्वय समिति, धनुषाका अध्यक्ष राजानन्दन मण्डल, महोत्तरी गाउँपालिकाका अध्यक्ष दिलिप पाण्डे, बलबा नगरपालिकाकी उपप्रमुख रामदुलारी ठाकुर, मटिहानी नगरपालिकाका वडाध्यक्ष कलिम अन्सारी, जलेश्वर नगरपालिकाका वडा नं. ६, १०, ११, १२ का वडाध्यक्षहरू, पिपरा गाउँपालिकाका वडा नं. १, २ र ३ का वडाध्यक्षहरू, जिल्ला स्वास्थ्य कार्यालयकी प्रतिनिधि प्रतिभा सिंह, एनजिओ संघका दिलिप पाण्डे, समाजसेवी धर्मेन्द्र झा, कांग्रेस नेता बजरङ्ग नेपालीलगायत अन्य अतिथिहरू सहभागी थिए।
कार्यक्रममा बाल क्लबका बालिकाहरूले स्थानीय संस्कृति झल्किने आकर्षक सांस्कृतिक प्रस्तुति दिएका थिए। स्वागत मन्तव्य दिँदै संस्थाका कार्यकारी निर्देशक बैथनाथ चौधरीले क्लबको ३४औं वर्ष प्रवेशप्रति हर्ष व्यक्त गर्दै सबै सदस्य तथा सहयोगीप्रति आभार प्रकट गरे। उनले क्लबले सामाजिक न्याय, शिक्षा, स्वास्थ्य तथा पिछडिएको वर्गको हकहितमा निरन्तर क्रियाशील भूमिका निर्वाह गर्दै आएको र भविष्यमा पनि यो अभियानलाई अझ सशक्त रूपमा अगाडि बढाइने जानकारी दिए।
महोत्तरी गाउँपालिकाका अध्यक्ष दिलिप पाण्डेले संस्थाको ऐतिहासिक योगदानको स्मरण गर्दै भने, “हामी कक्षा आठमा हुँदा यो संस्था दर्ता भएको हो। त्यो समयमा पञ्चायती शासन थियो। त्यस्तो परिवेशमा पनि यस संस्थाले समाजको हितमा प्रशंसनीय कार्य गरेको छ।” उनले शिक्षा, बालबालिका र ज्येष्ठ नागरिकका क्षेत्रमा संस्थाको सक्रियता बढ्ने विश्वास व्यक्त गरे।
कार्यक्रमको सञ्चालन संस्थाका कार्यक्रम अधिकृत राजेश पाण्डेले गरेका थिए। कार्यक्रममा विगत वर्षको आर्थिक विवरण र प्रगति प्रतिवेदन प्रस्तुत गर्दै क्लबले आगामी वर्षका योजनाहरू समेत सार्वजनिक गरेको थियो।