धनतेरसको पूर्वसन्ध्यामा जनकपुरधाममा गोलि चल्यो,अध्यक्ष भण्डारीलाई कुटपिट – Jaleshwortoday

धनतेरसको पूर्वसन्ध्यामा जनकपुरधाममा गोलि चल्यो,अध्यक्ष भण्डारीलाई कुटपिट

 October 18, 2025  
8888

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ३१ असोज

जनकपुरधाम उपमहानगरपालिका अन्तर्गत सोनारपट्टीमा शुक्रबार धनतेरसको पूर्वसन्ध्यामा गोली चलेको छ ।
व्यवसायी संजय ठाकुरको संजय पायल ज्वेलर्समा प्रहरी छापा मार्न पुगेको थियो ।
सो क्रममा व्यवसायीहरूले अवरोध गरेपछि प्रहरीले उद्योग वाणिज्य संघको अध्यक्ष सुरेन्द्र भण्डारीलाई निर्घात कुटपिट गर्नुका साथै गोली चलाएको थियो । व्यवसायीको अवरोधपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो । साथै स्थानीय युवाहरुले प्रहरीलाई लखेटेका थिए भने प्रहरी विरुद्ध नाराबाजी समेत गरेका थिए । सुनचाँदी व्यवसायी संघको अध्यक्ष पवन ठाकुरका अनुसार धनतेरसको पूर्वसन्ध्यामा यस किसिमको कार्यले सुनचाँदी व्यवसायी आतंकीत भएका छन् भने शनिवार हामी पसल खोल्छौ की खोल्दैनौ त्यो कुरा हामी बैठक बसेपछि थाहा हुने छ बताउनुभयो । साथै जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्ष सुरेन्द्र भण्डारीलाई प्रहरीले निर्घात कुटपिट गरेको घटना ज्यादै नै अमर्यादित रहेको बताउनुभयो । उद्योग वाणिज्य संघको पूर्व अध्यक्ष ललित साहले समेत यो घटना जनकपुरधामको लागि अकल्पनीय रहेको बताउनुभयो ।
बिलबिजक बिनाको सुनचाँदी खरिद बिक्री भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीको टोली शुक्रबार साँझ छापा मार्न पुगेको थियो । कति राउन्ड फायर भएको भन्ने बुझ्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ ।