आरजे इर्शाद शेख
महोत्तरी, ८ कार्तिक
ओरेकको आयोजनामा तथा जलेश्वर नगरपालिकाको समन्वयमा खैरा, जलेश्वर नगरपालिका–३ स्थित दलित वस्तीमा स्नेह केन्द्र (महिला मैत्री सुरक्षित स्थल) सञ्चालनमा आएको छ।
‘विपद्मा घर मात्रै होइन, मन पनि भत्किन्छ’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको उक्त केन्द्रले विपद्को अवस्थाबाट प्रभावित महिलाहरूको मनो–सामाजिक सुदृढीकरणका साथै सुरक्षित आवास र पौष्टिक आहार उपलब्ध गराउने उद्देश्य लिएको छ।
ओरेकले सञ्चालन गरेको सो केन्द्रबाट उच्च जोखिममा रहेका करिब ४० देखि ५० जना गर्भवती तथा सुत्केरी महिला र साना बालबालिकाहरूले दैनिक आवास, पौष्टिक खाना तथा मनोपरामर्श सेवाको सुविधा पाउने भएका छन्।
स्नेह केन्द्रको उद्घाटन जलेश्वर नगरपालिका–३ का वडा अध्यक्ष रत्नकुमार चौधरीको अध्यक्षतामा तथा नगर प्रमुख सुरेश साह सोनारको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
कार्यक्रममा महिला तथा पुरुष वडा सदस्य, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, महिला मानव अधिकार रक्षक सञ्जाल महोत्तरीकी अध्यक्ष काजल नागवंशी, सचिव साधना वर्मा, थर्ड एलाईन्सका प्रदेश संयोजक अर्जुन साह, जलेश्वर नगर महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष सुनिता झा, पिपरा सञ्जालकी अध्यक्ष रागनी मिश्र, स्थानीय समाजसेवी, शिक्षक, महिला अधिकारकर्मी तथा सेवा लिने गर्भवती, सुत्केरी महिला र किशोरीलगायत करिब ५० जनाको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन ओरेक मधेश प्रदेश संयोजक विणा सिंहले गर्नुभयो भने केन्द्रको व्यवस्थापन ओरेकका मनोविर्मकर्ताहरू दिपकामना मिश्र र रम्भा सरदारसहित महिला मानव अधिकार रक्षकहरूले गरेका थिए।
“दलित समुदायको सशक्तीकरणका लागि केन्द्र महत्वपूर्ण” — मेयर सोनार
नगर प्रमुख सुरेश साह सोनारले स्नेह केन्द्रले दलित समुदायका महिला र किशोरीहरूलाई शिक्षा र सशक्तीकरणतर्फ प्रेरित गर्ने बताउनुभयो।
उहाँले भन्नुभयो, “यो वस्तीका धेरै महिलाहरूले आफ्नो नाम पनि लेख्न जान्दैनन्। ओरेकले यस केन्द्रमार्फत उनीहरूलाई हस्ताक्षर गर्न र आधारभूत सीप सिकाउने कार्य गरोस्। त्यसका लागि पालिकाबाट काँपी र कलम उपलब्ध गराइनेछ।”
साथै उहाँले वस्तीमा नागरिकता र जन्मदर्ता सम्बन्धी समस्या अझै गम्भीर रहेको भन्दै त्यसको तथ्याङ्क संकलन गरी बहस र पहल गर्न अनुरोध गर्नुभयो।
वडा अध्यक्ष रत्नकुमार चौधरीले आफू यही वस्तीको निवासी भएको र यो दलित समुदायको सहयोगबाट विजयी भएको स्मरण गर्दै भन्नुभयो, “म उनीहरूको हितका लागि सधैँ अग्रसर रहनेछु, कुनै पनि सहयोगमा पछि हट्नेछैन।”
महिला मानव अधिकार रक्षक सञ्जाल महोत्तरीकी अध्यक्ष काजल नागवंशीले ओरेकले विपद्को बेला महिलाको जोखिम, नेतृत्व र अधिकारका विषयमा निरन्तर तालिम दिँदै आएको बताइन्।
उनले भनिन्, “‘स्नेह’ शब्दले नै माया र आत्मीयता झल्काउँछ। अब यो केन्द्रबाट दलित वस्तीका महिलाहरूले स्नेह, सेवा र सुरक्षाको अनुभव गर्नेछन्।”
ओरेकले सञ्चालन गरेको स्नेह केन्द्रले समुदायमा रहेका कमजोर, उत्पीडित र जोखिममा रहेका महिलाहरूका लागि सुरक्षित स्थान, परामर्श, पौष्टिक आहार तथा सिप विकासका अवसर उपलब्ध गराउने लक्ष्य लिएको छ।
