जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, २५ कार्तिक
लैंगिक हिंसा रोकथामका लागि साइबर क्राइम विरुद्धको कानूनी उपचारलाई प्रभावकारी बनाउनुपर्नेमा सरोकारबालाहरुले जोड दिएका छन् । जनकपुरधामा मंगलबार आयोजित लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि समुदाय–प्रहरी साझेदारी संवाद कार्यक्रममा कानूनी पक्ष कमजोर हुँदा यस प्रकारको अपराध बढ्दै गएको उनीहरुले तर्क गरे ।
सुरक्षा र न्याय कार्यक्रम अन्तर्गत पिपुल इन नीड र डीडीआरसीको सहयोगमा सामुदायिक परिवार कल्याण संघ (सीएफडब्लुए)ले आयोजना गरेको संवाद कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगर उपप्रमुख किशोरी साहले सामाजिक संजालको दुरुपयोग बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै यसको रोकथाम गर्ने नियमक निकायलाई कठोर भएर प्रस्तुत हुनका लागि आग्रह गरे । सामाजिक संजालमा लैंगिक हिंसा बढेको दिनैपिच्छे सुनिन्छ, हेरिन्छ पनि । तर, यस्ता अपराध गर्ने व्यक्तीमाथि कारबाही भएको देखिदैन् । यसले सामाजिक संजालमार्फत चरित्र हत्या गर्ने, तस्वीर सार्वजनिक गरेर भ्रम सिर्जना गर्नेको मनोबल बढेको छ, उनले भने–खासगरेर महिला विरुद्ध सामाजिक संजालमा ट्रोल गरिने तस्वीर, भिडियोहरुले समाजलाई नै प्रभावित गरिरहेको छ । यस्ता गतिविधि नियन्त्रण गर्ने कार्यमा सक्रियता देखाउन सुरक्षानिकायमा आग्रह गरे ।
सो अवसरमा मधेश प्रदेश कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र साहले मधेशमा साइबर क्राइमको अवस्थाबारे एक प्रस्तुतिकरण गर्दै यसतर्फ सुरक्षानिकाय गंभीर रहेको बताए ।
प्रविधि रुपमा सुरक्षानिकाय अझैपनि दुरुस्त हुन नसक्दा साइबर क्राइम जस्ता अपराध नियन्त्रणमा समस्या आइरहेको उनले स्वीकार गरे । यद्यपी, विगतको भन्दा हालका दिनमा यस्ता कार्यमा संलग्न व्यक्तीहरुको पहिचान गरेर कारबाहीको दायरामा ल्याइएको उनले बताए ।
नेपालमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत साइबर अपराधको लागि ५ वर्षसम्म कैद वा १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था छ ।
लागूऔषधमा लागेका युवाहरुले जनकपुरको सहायक बाटोमा विद्यालय, कलेज जाने छात्राहरुलाई र्दुव्यवहार गर्दै आएकोप्रति महिला अगुवा मुन्नी दासले सुरक्षानिकायको ध्यानाकर्षण गराइन् ।
पहाडी जिल्लाका युवती, महिलाहरुलाई संलग्न गराएर जनकपुरधाममा देहव्यापार भइरहेको बताउँदै यसतर्फ तत्काल कारबाही अगाडि बढाउन उनले सुरक्षानिकायमा आग्रह गरिन् । नेपालमा सबैभन्दा बढी सामाजिक सञ्जालबाट साइबर अपराध हुने गरेको छ । फेसबुक, भाइबर, स्काईप, ह्वाट्एसप, इन्स्टाग्राम, इमो, टिकटक जस्ता सामाजिक सञ्जालमा अश्लिल हर्कत गरेको श्रव्यदृष्यहरु सार्वजनिक गर्दा सामाजिक विकृति बढ्दै गएकोले यस्ता हर्कत गर्नेमाथि कारबाही गर्नुपर्ने तर्क दासको थियो । ्
कार्यक्रममा पिपुल प्रमोट सेन्टरका अध्यक्ष कमलेश कुमार मण्डलले साइबर क्राइम विरुद्ध प्रभावकारी अभियानको आवश्यक्ता औंल्याए । नक्कली फेसबुक एकाउन्ट बनाएर गाली गलौज, धम्की, चरित्र हत्या गर्ने गतिविधि भइरहेका छन् । यस्ता क्रियाकलाप गर्ने विरुद्ध कारबाही गर्नुपर्नेमा उनले जोड दिए ।
यस्तै, निलहिरा समाजका प्रदिप कुमार यादवले आफूहरुको समस्या समाधान गर्न कुनै निकायले तदारुकता नदेखाएको गुनासो पोखे ।
कार्यक्रममा वडा नम्बर ४ का वडाध्यक्ष सुरेश झा, वडा नं. १४ का वडाध्यक्ष पुण्यप्रताप यादव, राष्ट्रिय अपांग महासंघका किरणकुमार पासवान, राष्ट्रिय बाल अधिकार परिषदका संजिव महतो, जनकपुरधाम उपमहानगरपालिकाका सुनिता यादव, डीडीआरसीका परियोजना संयोजक लक्ष्मेश्वर यादव सीएफडब्लुएका लक्ष्मेश्वर मण्डल, एनसीइ नेपालका रामभगत यादव लगायतको उपस्थिति रहेको थियो ।
