आरजे इर्शाद शेख
महोत्तरी, २७ मंसिर
आम सञ्चार प्राधिकरण, मधेश प्रदेशको आयोजनामा सञ्चार क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगसम्बन्धी एकदिने तालिम कार्यक्रम सम्पन्न भएको छ।
जलेश्वरस्थित आरएस थकाली होटल एन्ड रिसोर्टमा सम्पन्न तालिममा सञ्चारकर्मीहरूलाई समाचार संकलन, सम्पादन तथा प्रसारणमा एआई प्रविधिको प्रयोग, यसका सम्भावना, चुनौती तथा जिम्मेवार प्रयोगका विषयमा जानकारी गराइएको थियो।
कार्यक्रममा आम सञ्चार प्राधिकरण, मधेश प्रदेशका अध्यक्ष जितेन्द्र कुमार खड्गाले प्रविधिको तीव्र विकाससँगै सञ्चार क्षेत्रलाई समयानुकूल बनाउनु आवश्यक रहेको बताउनुभयो। उहाँले एआईको सही र जिम्मेवार प्रयोगले पत्रकारिताको गुणस्तर अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो।
तालिम कार्यक्रममा महोत्तरी जिल्लाका विभिन्न सञ्चार माध्यममा आबद्ध सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
