महिलाको प्रजनन स्वास्थ्यसम्बन्धी निःशुल्क जाँच तथा अपरेसन छनोट शिविर सञ्चालन – Jaleshwortoday

महिलाको प्रजनन स्वास्थ्यसम्बन्धी निःशुल्क जाँच तथा अपरेसन छनोट शिविर सञ्चालन

 December 23, 2025  
3

आरजे इर्शाद शेख
महोत्तरी, ८ पुस

एकडरा गाउँपालिकाले महिलाको प्रजनन स्वास्थ्य सम्बन्धी निःशुल्क जाँच तथा अपरेसन छनोट शिविर सञ्चालन गरेको छ। यो शिविर सामुदायिक सेवा प्रतिष्ठान, भक्तपुर (गठ्ठाघर) को प्राविधिक सहयोगमा आयोजित गरिएको हो।

4

शिविर २०८२ साल पुष ८ गते एकडरा गाउँपालिका–१ स्थित श्री माध्यमिक विद्यालयको प्रांगणमा सम्पन्न भएको हो। उद्घाटन समारोहमा एकडरा गाउँपालिकाका अध्यक्ष दीप नारायण मण्डल, वडा नम्बर १ का अध्यक्ष मनोज मण्डल, स्वास्थ्य संयोजक महेन्द्र मण्डल, स्वास्थ्य चौकी प्रमुख बिपिन मण्डल, प्र.अ. राम दिनेश मण्डल र जनस्वास्थ्य कार्यालय महोत्तरीकी फोकल पर्सन प्रतिभा सिंहलगायतका प्रमुख व्यक्तिहरूको उपस्थित रहेको थियो।

5

गाउँपालिकाका अनुसार, पुष ८ र ९ गतेसम्म सञ्चालन हुने यस शिविरमा विशेषज्ञ चिकित्सकहरूको टोलीद्वारा आँड खसेका (पाठेघर खसेका) महिलाहरूको निःशुल्क स्वास्थ्य जाँच गरिनुका साथै, आवश्यक ठहरिएका बिरामी महिलाहरूलाई निःशुल्क अपरेसनका लागि छनोट गरिने छ। साथै, शिविरमा सहभागी महिलाहरूलाई निःशुल्क औषधि वितरण गरिनेछ र पाठेघर खसेका महिलाहरूका लागि रिङ पेसरी सेवा पनि उपलब्ध गराइने छ।

शिविरको उद्देश्य महिलाहरूको प्रजनन स्वास्थ्य समस्याको पहिचान र उपचारमा सहयोग पुर्‍याउनु हो। गाउँपालिकाले महिलाहरूलाई यस शिविरबाट अधिकतम लाभ लिन अनुरोध गरेको छ।

निःशुल्क सेवाहरू:

  • पाठेघरको मुखको क्यान्सर जाँच,थर्मोकोगुलेशन
  • फिस्टुला अपरेसन,पिसाब चुहिने रोगको पहिचान र उपचार
  • निःशुल्क भिडियो एक्स-रे ,आँड खस्ने समस्याको उपचार, परामर्श र अपरेसन, स्त्री रोग सम्बन्धी जाँच र परामर्श
  • VIA टेस्ट (पाठेघरको मुखको परिक्षण)
  • आइ यु सि डि इनप्लान्ट सेवा गाउँपालिकाले सम्बन्धित सबै महिलाहरूलाई शिविरमा उपस्थित भई उपचार र परामर्शको लाभ लिन आग्रह गरेको छ।